सिरहा । प्रदेश २ को सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माण कार्य सम्पन्न नहुँदै भाँसिएको छ।
हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा चौक स्थित गत असार १३ गते हस्तान्तरण गरी सञ्चालनमा ल्याउने सम्झौता भएको कमला पुल सञ्चालनमा नआउँदै भाँसिएको हो।
सो पुलको १२ वटा स्पानमध्ये एक स्पान १ फिट भाँसिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिए।
प्रजिअ कँणेलका अनुसार बसपिट्टा चौक स्थित निर्माणाधीन कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको हो।
उनले कमसल सामग्रीको प्रयोग वा गलत डिजाइन गरी निर्माण कार्य गरिएकोले भाँसिएको हुनसक्ने बताए।
२०६८ सालसम्म ४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने ठेक्का पाएका पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीबाट काम सुरू भएको थियो। बीचबीचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो।
‘२०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता बमोजिम कार्य सम्पन्न भएको थियो तर हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको बाढीमै पुलको स्पान भाँसिनुले काम गुणस्तरहीन भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रजिअ कँणेलले भने,‘पुल निर्माणको ठेक्का पाएका लुम्बिनी विल्डर्सलाई उल्लेख गर्दै गुणस्तरहीन काम भएको हुनुपर्ने भन्दै गृह मन्त्रालयमार्फत् भौतिक पूर्वाधार मन्त्रालयलाई परिपत्र गरिसकेका छौं। ’