प्रदेश २ मा गएको वर्ष सडक दुर्घटनामा परी ५ सय २३ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा सडक बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषाको विभिन्न ठाउँमा तीन हजार ९ सय ८३ सवारी दुर्घटना भएको प्रहरी तथ्यांकले देखाएको छ । सो मध्ये ५ सय २३ जनाले ज्यान गुमाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
एक वर्षको अवधिमा तीन सय ९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिकाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस अवधिमा ६ हजार चार जना घाइते भएका छन् ।
घाइतेहरूमा चार हजार दुई सय ६८ पुरुष, आठ सय ७३ महिला, पाँचसय ७० बालक र दुई सय ९३ बालिका छन् । सोही अवधिमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने क्षमता भन्दा बढी यात्रु बोक्ने १० हजार सात सय पाँच जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै कोरोना महामारीबाट बच्न सरकारले लागू गरेको निषेधाज्ञामा प्रशासनको अनुमतिबिना सवारी चलाउने तीन सय ३६ जनालाई कारबाही गरिएको एसपी श्रेष्ठले बताए ।
उनका अनुसार गत आर्थिक वर्ष ०७६/०७७ मा एक हजार तीन सय ४० सवारी दुर्घटना चार सय २० जनाको मृत्यु भएको थियो । त्यस्तै ९ सय पाँच जना गम्भीर घाइते र ९ सय ६२ जना समान्य घाइते भएका थिए ।
आर्थिक वर्ष ०७५/०७६ मा एक हजार तीन सय ५२ दुर्घटनामा चार सय ९६ जनाले ज्यान गुमाएका थिए । ग्रामीण भेगमा निर्माण भएका राम्रा सडकमा तीव्र गतिमा सवारीसाधन गुडाउँदा एक आपसमा ठोक्किर बढी दुर्घटना हुने गरेको एसपी श्रेष्ठको भनाइ छ ।