सप्तरी । सप्तरीका युवाहरूले एक विपन्न परिवारकी बालिकालाई क्यान्सर रोगबाट बचाउन अभियान थाल्ने भएका छन । अग्निसाइर कृष्णा सवरन गा.पा.-५ छपकी बस्ने १४ वर्षीय अमृता शर्माको घाँटीमा क्यान्सर भएको छ । कक्षा-१० मा अध्ययनरत शर्मा को परिवार आर्थिक रुपमा कमजोर भएको कारण स्थानीय युवाहरूले उनको उपचारका लागि अभियान चलाउने जानकारी प्राप्त भएको हो ।
सामाजिक संजाल फेसबुकको माध्यमले अमृतालाई आर्थिक सहयोग पोस्ट भए देखि विभिन्न ठाउँका युवाहरू उनलाई भेटी सक्दो आर्थिक सहयोग गर्न छपकी जान थालेको स्थानीय बताउँछन् ।
सप्तरीका एक शिक्षक तथा सामाजिक युवा अभियन्ता पवन शर्माले अमृतालाई उनकै गाउँ पुगी सहयोग गरेका छन । शिक्षक शर्माले डिएम खबर संग कुराकानी गर्दै भने ‘ अमृता र उनको परिवार वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाट घर आउँदैछ भन्ने जानकारी पाएर यथार्थ कुरा बुझ्नको लागि वहाँको घरमा पुगें। घर पुगेर परिवार र छरछिमेकीसँग कुरा गर्दा वास्तवमा उनको परिवार आर्थिक संघर्ष गर्दै गरेको थाहा पाए । पीडित बालिकाको पिता महादेव शर्मा २ वर्ष अगाडि नै स्वर्गवास भएको कारण उनको उपचारमा कठिनाइ भएको महसुस गर्दै ब्यक्तिगत तर्फबाट रु. ५ हजार सहयोग गरें ।’
पीडित शर्माको प्रारम्भिक उपचार आफन्त र गाउँलेको सहयोगमा भईरहेको पारिवारिक श्रोतले बताए । २ बर्षदेखि क्यान्सरले ग्रसित अमृता अप्रेसन गराउनका लागि क्यान्सर अस्पताल भरतपुर, चितवन लानुपर्ने अवस्था रहेकोले स्थानीय युवाहरूले सहयोग अभियान थाल्ने निर्णय गरेका छन । त्यसैगरी छपकी पुगेका हेल्प मधेशी संस्था सप्तरीका सहजकर्ता प्रमोद शर्माले समेत सहयोग गर्ने आश्वासन दिए । अमृता बचाउ अभियानमा सरकार, देशका विभिन्न संघ संस्था, कार्यालय आदिलाई सहयोग गरिदिन अपिल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1