Thursday, December 2, 2021
spot_img
Homeदेशउधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

शेयर गर्नु होस

काठमाडौं । चिनी उद्योगले पैसा नदिएपछि सर्लाहीका ७४ वर्षका गगनदेव राय बुधबार तेस्रो पटक काठमाडौं आएका छन् । उद्योगलाई उखु बेचेको रकम वर्षौदेखि नपाएपछि सरकारलाई खबरदारी गर्न काठमाडौं आएको टोलीमा उनको गाउँका ५ जना छन् ।

सर्लाहीको धनकौलमा उखु खेती गर्ने राय २०७७ पुसको २५ देखि काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा पनि अग्रपंक्तिमा थिए । रायले धनकौलमै रहेको अन्नपूर्ण चिनी मिलबाट उखु बिक्री बापतको चार लाख रुपैयाँ लिन बाँकी छ ।

मिलबाट पैसा आउला र तिरौंला भन्दै घर खर्च चलाएका रायले ऋण बढेर सात लाख रुपैयाँ पुगिसक्दा पनि उखु बेचेको पैसा पाएका छ्रैनन् । वयोबृद्ध गगनदेव जस्तै पीडित किसान देशभर पाँच हजार भन्दा धेरै रहेको उखु उत्पादक महासंघ नेपालले जनाएको छ ।

भुक्तानी सकसमा ५ हजार किसान

अघिल्लो पटक १० हजार रुपैयाँ ऋण लिएर गगनदेव काठमाडौं आएका थिए । यसपटक पनि गाडीभाडा खोजेर काठमाडौं आएको उनले बताए । बिचौलिया, उद्योगी र सरकारका कारण उखु खेती टाउको दुखाइ बनेको राय बताउँछन् । ‘नगदे बाली भनेर खेती गर्‍यो तर यो टाउको खाने उधारो बन्यो, हामी उखुबाट विस्थापित भइसकेका छौं,’ रायले भने ।

देशभर करिब ६८ हजार हेक्टर जमिनमा उखु खेती हुन्छ भने २५ हजार किसान यो पेशामा संलग्न रहेको सरकारी तथ्यांक छ । तर हरेक वर्ष अधिकांश किसान भुक्तानी नपाउने पीडामा पर्ने गरेको उखु उत्पादक महासंघ नेपालले जनाएको छ ।

‘उखु खेती गरेर भुक्तानी नपाउने किसानको संख्या पाँच हजार हाराहारी हुन्छन् । यो उधारो पेशा भइसकेकाले किसानहरुले दुःख पाएका छन्,’ महासंघका अध्यक्ष कपिलमुनि  मैनालीले भने ।

खेती गरेको पैसा नपाउने समस्याका कारण उखु खेतीबाट सर्लाहीको किसानमा सबैभन्दा धेरै बिचलन आएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । सर्लाहीमा मात्रै उखु उत्पादन अघिल्लो वर्षको तुलनामा आधा गिरावट आएको उनको भनाइ छ ।

खुम्चीदैं खेती घट्दो उत्पादन

उखु खेतीबाट किसान विस्थापित भएको तथ्यलाई सरकारी आँकाडाले पनि पुष्टी गर्छ । २०७४ सालसम्म बढ्दो क्रममा रहेको उखुको खेती र उत्पादन त्यसपछि ओरालो गतिमा छ ।

आर्थिक वर्ष २०७३/७४ सालमा ३१ हजार ६ सय टन उत्पादन भएको उखु २०७४/७५ मा ३५ हजार ६ सय मेट्रिक टन, २०७५/७६ मा ३४ हजार मेट्रिक टन र २०७७/७८ मा ३३ हजार मेट्रिक टनमा सीमित रहृयो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार २०७४/७५ सम्म ७८ हजार ६ सय हेक्टरमा हुने उखु खेती त्यसपछि कम क्षेत्रमा मात्र हुँदै आएको छ । २०७४/७५ मा ७८ हजार ६ सय, २०७५/७६ मा ७१ हजार ६ सय र २०७६/७७ मा ६८ हजार ६ सय हेक्टर क्षेत्रफलमा उखु खेती खुम्चिएको छ ।

निर्यातको अवस्थाबाट आयाततर्फ

उखु उत्पादक महासंघ नेपालका अनुसार २०७१ सालसम्म नेपालबाट चिनीजन्य पदार्थ निर्यात हुन्थ्यो । तर, अहिले स्वदेशी माग धान्नका लागि विदेशबाट चिनी आयात गर्नुपरेको छ । गत वर्ष स्वदेशी उत्पादनले नधानेर निजी क्षेत्रका अलावा सरकारलेसमेत ३० हजार मेट्रिक टन चिनी आयात गरेको थियो ।

चालु आर्थिक वर्षमा सोही परिमाण बराबरको चिनी आयातका लागि वाणिज्य मन्त्रालयले तयारी अघि बढाएको छ । देशभरका १२ उद्योगबाट करिब वाषिर्क दुई लाख मेट्रिक टन चिनी उत्पादन हुन्छ जुन कुल खपत भन्दा ५० हजार मेट्रिक टन कम हो । नेपालमा उत्पादन र खेती मासिँदै जाँदा सरकार तथा व्यवसायीले भारत, पाकिस्तान लगायतको मुलुकबाट चिनी आयात बढाएका छन् ।

उद्योगी भन्छन् – सरकारी दोषी

२०७४ सालमा सरकारले लिएको गलत नीतिका कारण उखु खेती र चिनी उद्योग दुवै धरासायी भएको उद्योगीहरुको आरोप छ । नेपाली उद्योगसंग प्रशस्त चिनी मौज्दात रहेको अवस्थामा सरकारले पाकिस्तानबाट ठूलो परिमाणमा चिनी ल्याइदिँदा उद्योग धरासायी भएको चिनी उत्पादक संघले जनाएको छ ।

संघका उपध्यक्ष राजकुमार अग्रवालका अनुसार उद्योगको चिनी नबिक्दा किसानलाई धेरै उद्योगीले सो वर्ष देखि रकम नसकेको र सो रकम हरेक वर्ष थपिंदा किसान र उद्योगी मर्कामा परेका हुन् ।

किसानको भुक्तानी तिर्न सरकारले नसघाउने र अवैध बाटोबाट आएको चिनीसमेत सरकारले नरोक्दा स्वदेशी उद्योग र उत्पादन समेत समस्यामा परेको अग्रवालले बताए । उखु खेती विस्तार र उन्नत बीऊ विकासमा सरकारले कुनै ध्यान नदिएको संघको आरोप छ ।

उखु खेती र किसानको दुर्दशा किन ?

छिमेकी मुलुकहरुको तुलनामा उखु खेती प्रतिस्पर्धी हुन नसक्नु र किसानको हिसाब नमिल्नुले अहिले खेतीप्रति नै वितृष्णा जागेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

उन्नत जातको मल, बिउ, कृषि सेवा र प्राविधिक नहुनु खेतीको प्रमुख दुःख भएको पूर्व उद्योग सचिव चन्द्र घिमिरे बताउँछन् । किसानको लागि बजार नबढ्नु, उचित मूल्य नपाउनु र भुक्तानीमा पनि समस्या भएका कारण किसान खेतीबाट बिस्थापित भएको घिमिरे बताउँछन् ।

‘माटो हो अरु पनि विकल्प हुन्छ, किसानले अवसर पाएनन, उद्योगहरु पनि असफल भए,’ घिमिरेले भने । उद्योगका कारण दुःख पाएका किसानले सहनै नसक्ने अवस्थाका कारण पनि उखु खेतीतर्फको बिर्कषण बढेको उनको बुझाइ छ ।

कृषि अर्थविज्ञ डा. श्रीराम घिमिरे उखुमा उद्योग र किसानबीचको हिसाब नमिल्ने र उन्नत बीऊ अभावले खेतीप्रति निराशा बढेको बताउँछन् ।

उखु बेचेर तुरुन्तै पैसा माग्ने किसान र चिनी बेचेर मात्रै पैसा तिर्छु भन्ने उद्योगीको समस्या हल गर्नु र उन्नत बीऊमा थप तदरुकता देखाउनुु अबको आवश्यकता भएको घिमिरेको भनाइ छ ।

उखु किसान भने उद्योगको नाममा हुने बिचौलिया राजनीति र उद्योगी नै यसको मूख्य कारण भएको मान्छन् । उद्योगी पारदर्शी नहुने, विचौलिया हाबी हुने र सरकारले ध्यान नदिंदा उखु खेती र व्यवसाय धरासायी भएको संघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: