जनकपुरधाम । प्रहरी हिरासतमा मृत्यु भएका धनुषाका पल्टु रविदासको घटनामा पीडित परिवारले शव बुझ्न तयार भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका पल्टु रविदासको शव बुझ्न पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार दिउँसो पीडित परिवार, दलित अगुवा तथा अधिकारकर्मी र प्रहरी तथा स्थानीय प्रशासनबीच भएको वार्तामा दुई बुँदे सहमतिपछि पीडित परिवारले शव बुझ्न तयार भएका हुन् ।
घटना अनुसन्धानका लागि उच्चस्तरीय छानबिन टोली गठन र पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।
त्यस्तै घटनाको बखत जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा सेन्ट्री खटेका प्रहरी जवान जय प्रकाश यादवलाई ६ महिनाका लागि निलम्बन समेत गरिएको छ ।
ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दामा थुनामा रहेका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु गएको साउन १५ गते हिरासत कक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो झुण्डिएको अवस्थामा भेटिएका थिए ।
सोही दिन मुचुल्का गरी उनको शव पोष्टमार्टम भइसके पनि पल्टुको हत्या भएको भन्दै उनका परिवारले घटना निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन् ।
उनीहरू घटना भएकै दिनदेखि प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका थिए ।
त्यसैगरी, मृतककी श्रीमतीलाई गाउँपालिकामा जागिरका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्ने समेत निर्णय भएको वार्तामा सहभागी दलित पत्रकार महासंघ प्रदेश २ का संयोजक कैलाश दासले बताए ।
प्रदेश सरकारको तर्फबाट ५ लाख रूपैयाँ र संघीय सरकारले १० लाख क्षतिपूर्ति दिनुपर्ने पीडित परिवार तथा दलित अगुवाहरूको माग छ ।