एजेन्सी । बंगलादेशको खुलाना जिल्लाको रुप्सा उपजिल्लाअन्तर्गत सियली मालिकपारा गाउँमा हिन्दू अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति शनिबार तोडफोड एवं लुटपाट भएपछि हिन्दू समुदाय विरोधमा उत्रेको छ । विश्व हिन्दू महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र पठाउँदै हिन्दूहरूमाथि भइरहेका शृंखलाबद्ध आक्रमण र ज्यादति रोक्न र उनीहरूको सुरक्षा गर्न माग गरेको छ ।
बंगलादेश शाखाका महासचिव दीपन मित्रद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दू समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरेका छन् । उनले उदारवादी साेच राख्ने राजनीतिक पार्टीको नेतृत्वमा बंगलादेशमा सरकार सञ्चालन भइरहेको, तर यही समयमा हिन्दू अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
उनले दोषीहरूमाथि कडा कारबाहीका लागि पनि प्रधानमन्त्री हसिनासँग माग गरेका छन् । बंगलाबन्धुले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचिव मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
पाकिस्तान र बंगलादेशमा निरन्तर हिन्दु समुदाय र संस्कृतिमाथि आक्रमण हुँदै आएकाे छ । हिन्दू समुदायले घटनाको विरोध गर्दै बिहीबार खुलना पिक्चर प्यालेसमा प्रदर्शन गरेको थियो । विश्व हिन्दू महासंघ बंगलादेश शाखा, जातियो हिन्दू महाजोते, बंगलादेश हिन्दू परिषद्, शिवशक्तिलगायत स्थानीय हिन्दू संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी थिए । स्थानीय अतिवादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मूर्तिहरू तोडफोड एवं नष्ट गरेको महासचिव मित्रले जानकारी दिए । यसैगरी, सियाली महाश्वमशान मन्दिरमा कीर्तन–भजन चलिरहेका वेला आक्रमण भएको पनि उनले बताए ।