सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीमाथि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले माओवादीका नेता कार्यकर्ताले कर्मचारीमाथि हातपातसहित दुर्व्यवहार गरेका बताएका छन् ।
गाउँपालिकाको वडा नं. १ बस्ने रामविश्वास राम, वडा नं. ३ बस्ने चनु राय, उदय रायसहितको समूहले माओवादी केन्द्रको झन्डा बोकेर नाराबाजीसहित कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेका थिए ।
गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पङ्कज कुमार झा, उद्यम विकास सहजकर्ता राश नारायण राय र राकेश कुमार यादव, सूचना प्रविधि अधिकृत सुजित कुमार कर्ण, पन्जिकरण शाखाका प्रमुख राजीव कुमार यादव, फिल्ड सहायक सञ्जय कुमार पण्डित लगायतका कर्मचारीमाथि दुर्व्यवहार भएको हो ।
बिहीबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनमा उद्यम विकास शाखाका फोकल पर्सन पङ्कज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासि तानेर बाहिर निकालिएको गुनासो गरे । त्यस क्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उनले गुनासो गरे ।
गाउँपालिकाका अध्यक्ष रायले आफू र प्रमुख प्रशासकीय अधिकृत मलंगवामा भएका बेला माओवादीका नेता कार्यकर्ताले उत्पात मच्चाउने हिसाबले कर्मचारीमाथि हातपातसहित दुर्व्यवहार गरेका बताए। रायले कुनै गल्ती तथा कमीकमजोरी भए आफूसँग आएर भन्नुको साटो तल्लो तहका कर्मचारीलाई हप्कीदप्की र गालीगलौच गरेर तर्साउने काम भएको बताए । आफूले राम्रा काम गरेकाले आगामी चुनावमा पुनः आफू नै अध्यक्ष दोहोरिने डरले विपक्षीले कर्मचारीलाई तर्साएर उपद्रो मच्चाएका गाउँपालिका अध्यक्ष रायले बताएका छन् ।
यता, दुर्व्यवहारको आरोप लागेका नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको प्रत्याशी समेत रहेका रामविश्वास रायले भने सबै कर्मचारीलाई एकै ठाउँमा जम्मा पारेर अनियमितताको बारेमा केही कुरा राख्न खोजेको भए पनि नमानेपछि बाहिर निकालेर ढोका लगाइदिएको बताएका छन् ।
तर गाउँपालिकाको सिसिटिभी फुटेजमा राय लगायतका व्यक्तिले कर्मचारीहरूलाई दुर्व्यवहार किसिमले पाखुरा समातेर बाहिर निकालेको देखिन्छ । रायले कर्मचारीप्रति आफूहरूको कुनै पूर्वाग्रह नरहेको बताए । उनले गाउँपालिकामा कामै नगरी थुप्रै अनियमितता भएको र आफ्ना नातागोतालाई कर्मचारीमा नियुक्त गरेको आरोप लगाए। दुर्व्यवहारको आरोप लागेका चनु रायले धेरै समयदेखि गाउँपालिकाको हिसाबकिताब मागेको भए पनि नदिएको बताएका छन् ।
गाउँपालिकाका कर्मचारीहरूको बिहीबार बसेको बैठकले शान्तिपूर्वक हिसाबले काम गर्ने वातावरण नहुन्ज्यालसम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । हाम्राकुरा