शेयर गर्नु होस

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । विमानस्थल निर्माण सकिएर संचालनमा आउँदा लुम्बिनी प्रदेशको मात्र नभई मुलुकको आर्थिक समृद्धिमा यसले दख्खल राख्ने छ । तर, निर्माण सुरु भएदेखि नै विवादमुक्त रहन सकेन । मुआब्जादेखि मुख्य ठेकेदार र सहायक ठेकेदारसम्मको विवाद विमानस्थल निर्माणमा देखिए ।

तराई–मधेश आनदोलन र निर्माण सामाग्रीको चरम अभाव विमानस्थलले झेल्यो । पछिल्लोपल्ट कोरोना महामारीले विमानस्थल संचालनमै अन्यौल देखिएको छ । अधिकांश पूर्वाधार निर्माण सकिए तर परीक्षण उडानको टुंगो छैन । विमानस्थल आयोजना कार्यालयका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संचालनको पत्तो छैन । यसले विमानस्थलको भविष्य नै अन्यौलमा परेको छ ।

विमानस्थल निर्माण सुरु गरेको सात वर्ष भयो । पाँचपल्ट बढी म्याद थपियो । तर, आयोजना सकिनुको सट्टा झन अन्यौल थपिँदै छ । एशियाली विकास बैक एडिबी को ६ अर्ब २२ करोड ५१ लाख ऋण तथा अनुदान सहयोगमा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरिएको हो । २०७१ कात्तिक २७ मा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपसँग ठेक्का सम्झौता भएको थियो ।

तीन बर्ष अघि नै विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आउनु पर्नेमा हालसम्म निर्माण सम्पन्न हुननसक्नु र हरेक वर्ष निर्माण लागत बढ्दै जानुले राष्ट्रिय गौरबको आयोजनामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

राजनीतिक स्वार्थ
ग्लोबल टेन्डर मार्फत् चिनियाँ कम्पनीले ठेक्का पाएँसगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा नेकपा एमाले भित्रका गुटहरुको स्वार्थ जोडिएको थियो । निर्माण सुरु भएको ९ महिनासम्म एमाले निकट नारायण कार्कीको नाममा रहेको हिमालय इन्फ्राटेक प्रालिले चिनियाँसँग मिलेर स्थानीय ठेकेदार भएर काम गरेको थियो ।

कार्कीको मातहतमा एमालेका युवाहरुले अर्को कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपाल प्रालि अनौपचारिक रुपमा संलग्न गराए । त्यसपछि हिमालय इन्फ्राटेक बाहिरियो र पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक खनाल र रुपन्देहीका एमाले नेता राजु गुरुङ्गको संलग्नतामा नर्थ वेष्टले चिनियाँ कम्पनीसँग प्रत्यक्ष काममा जोडिएको थियो ।

त्यस अघि यो कम्पनीले सामान सप्लायर्सको मात्र काम गर्ने गरेको थियो । नर्थ वेष्ट इन्फ्राले चिनियाँ कम्पनीँसग आयोजनाको ८० प्रतिशत काम गर्ने आन्तरिक सम्झौता गरेको थियो । तर राजनीतिक र आर्थिक स्वार्थको द्वन्द्व बढ्दै गएपछि मुख्य ठेकेदार र स्थानीय ठेकेदारको सम्बन्ध बिग्रँदै गएको थियो ।

यसको परिणाम थियो, चिनियाँ कम्पन्नीले नर्थवेष्टलाई अलग गर्नुको । त्यति बेलासम्म आयोजनाको २७ प्रतिशत काम सकिएको थियो । जसलाई बढी खर्चिलो, कम नाफामूलक अर्थात् जमिनमुनी र सतहका संरचना निर्माण भनिएको छ । नर्थवेष्ट अलग भएपछि पनि एमाले युवाको अर्को समूह यती आयोजनामा आफूहरुले काम पाउनु पर्ने भन्दै लबिङ्गमा लागेका थिए । अन्जित बिष्ट, सुमन पुरी, बालकृष्ण शिवाकोटी लगायतका युवाहरुको समूहमाथि पुरानो टिमलाई बाहिर पार्ने भूमिका खेलेको आरोप छ ।

यो समूह युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत निकट मानिन्छन् । युवा संघका गुरुङ्ग समूह एमाले भित्र माधवकुमार नेपाल र बस्नेत केपी ओली समूहमा चिनिन्छन् । सम्झौता अनुसार भुक्तानी नदिएपछि इन्फ्रा मातहतका कर्मचारी आन्दोलनमा उत्रिँदा चिनियाँ कम्पनीले दराजको ताला फुटाएर सझौता पत्र गायब पारेको आरोप छ ।

भुक्तानीको झमेला
आयोजना गतिहीन भइरहेका बेला चिनियाँ ठेकेदारबाट करोडौं रकम भुक्तानी नपाएको भन्दै स्थानीय व्यवसायी आक्रोसित भएका थिए । उनीहरुले स्थानीय ठेकेदार इन्फ्रा मार्फत् काम गरेका थिए । त्यस समय चिनियाँ कम्पनीले ३२ करोड रुपैयाँ स्थानीय व्यवसायीलाई भुक्तानी गर्न सकेको थिएन भने अहिले यो रकम बढेर १ अर्ब पुगेको छ ।

निर्माण ढिलाई किन ?
सुरुका दिनमा ठेकेदारको लापरवाही र व्यवस्थापकीय कमजोरीका कारण निर्माणको काममा ढिलाइ भएको हो । चिनियाँ कम्पनीले ठेक्काको रकम भन्दा घटेर टेन्डर हालेको हुँदा कम्पनीसँग पैसाको क्राइसिस, निर्माण सामाग्री उपलब्ध नहुने, ठेकेदारहरुको एकआपसमा समन्वय नहुने लगायतले गर्दा ढिलाई भएको बताइन्छ ।

चिनियाँ ठेकेदारको काम सुस्त भएको भन्दै नेपाल नागरिक उडडयन प्राधिकरणलाई विमानस्थलको अनुदान र ऋण रोक्ने भन्दै चेतावनी युक्त पत्र एडीबीले लेखेको थियो । पछिल्लोपल्ट कोरोनाले पनि विमानस्थल निर्माणमा ढिलाइ भइरहेको छ । परीक्षण उडान गर्ने भनिए पनि त्यो हुनसकेको छैन ।

मुआब्जा र क्षेत्रफल
गौतबुद्ध विमानस्थलका लागि आवश्यक जग्गा अधीग्रहण गरेर मुआब्जा दिने काम पनि लगभग सकिइसकेको छ । अहिलेसम्म २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४३७ रुपैयाँ मुआब्जा स्वरुप वितरण गरिसकिएको छ । अधीग्रहण गरेको जग्गासहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्वमा यतिबेला ८ सय १० बिगाहा जग्गा छ । यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ ।

अहिलेको गौतमबुद्ध विमानस्थल विसं २०११ साल मा पूर्वप्रधानमन्त्री डा. के.आई. सिंह र काँशीप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुआतको दिनमा भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०–०२१ सालतिर हालको ठाउँमा स्थानान्तरण भएको थियो । विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ ।

होटल व्यवसायी निरास
कोभिडले तहसनहस बनाइरहँदा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात् पर्यटक आवागमन होला भन्ने विश्वासका साथ यतिबेला भैरहवा लुम्बिनी क्षेत्रमा अर्बाैको लगानीमा नयाँ तारे होटल निर्माण भइरहेका छन् । चिनियाँ कम्पनीले समयमै विमानस्थल निर्माण सम्पन्न गरेको भए ४ वर्ष अघि नै होटल तथा पर्यटन व्यवसायी लाभान्वित हुने थिए । विमानस्थलाई नै केन्द्रमा राखेर होटल खोलेका व्यवसायी र निर्माण गरिरहेकाहरु निरास छन् ।

होटल व्यवसायीका अनुसार लुम्बिनी, भैरहवा, बेलहिया, मणिग्राम क्षेत्रमा १ सय ४० वटा सानाठुला र तारे होटल संचालनमा छन् । विमानस्थल निर्माण सुुरु भएपछि २ वटा फाइभ स्टार तथा १२ वटा ठुला होटलले निर्माण सुुरु गरेका थिए । यस क्षेत्रका होटल मा करिब २० अर्ब लगानी रहेको र करिब १२ अर्ब विभिन्न बैक को ऋण रहेको छ ।

चिनियाँ निर्माण कम्पनीको लापरवाहीले समयमै विमानस्थल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका होटल व्यवसायी अहिले निकै निरास भएका छन् । अर्कातर्फ कोभिडका कारण सीमा नाका बन्द हुँदा भारतीय पर्यटक यस क्षेत्रमा आउन नपाउँदा होटलहरु भूतबंगलामा परिणत भएको व्यवसायीले गुनासो गर्छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box