इस्लामावाद । घट्दो प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को प्रवाहका बीच अफगानिस्तानको वर्तमान स्थितिको कारण पाकिस्तानको अर्थव्यवस्था अझै संकुचित हुने अपेक्षा गरिएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार हालैका वर्षहरुमा पाकिस्तानमा एफडीआई प्रवाहमा आएको लगातार गिरावटले देशको आर्थिक प्रबन्धकहरु चिन्तित बनेका छन् ।
अघिल्लो आर्थिक वर्षमा दीर्घकालीन गैर ऋण सृजना गर्ने लगानी २९ प्रतिशतले घटेर १.८५ बिलियन डलरमा पुगेको छ । गत वर्षको जुलाइ महिनाको तुलनामा नेट फ्लो पनि ३९ प्रतिशतले घटेको डनले जनाएको छ ।
स्टेट बैंकको पछिल्लो चार बर्षको तथ्यांक अनुसार आन्तरिक एफडीआई प्रवाह या त घट्दै छ वा स्थिर छ जबकि बाह्य प्रवाह समयसंगै बढेको छ । यसैले, एफडीआई स्टक २०१६ देखि २०२० सम्म पाँच बर्षमा ४१.९ बिलियन डलरबाट घटेर ३५.६ बिलियन डलर पुगेको छ ।
अफगानिस्तानको पछिल्लो संकटको अवस्थाले पाकिस्तानमा पर्ने प्रभावको बढ्दो डरले नेट एफडीआई प्रवाह अझै संकुचित हुने अपेक्षा गरिएको छ । काबुलमा निर्वाचित सरकारको पतन पछि चाँडै पाकिस्तान उत्पादनमा असर पर्ने र विश्वव्यापी लगानीकर्ताहरुको विश्वासको हानि हुने हुँदा अर्थव्यवस्था पनि संकटमा पर्नसक्ने जनाइएको छ ।
यदि अफगानिस्तानमा अस्थिरता र अनिश्चितता कायम रह्यो भने पाकिस्तानले आफ्नो निर्यात राजस्वमा पनि कटौती गर्न सक्छ । पाकिस्तानले अफगान शरणार्थीहरुलाई अफगानिस्तानको सिमानामा स्थापित विशेष शिविरहरुमा बसोबास गर्ने घोषणा गरेको थियो ।
करिब ३० लाख अफगान शरणार्थी पाकिस्तानमा बसोबास गरिरहेका छन् भने जसमध्ये झण्डै आधा अवैध छन् । यसैबीच, पाकिस्तानको लागि खतराको घण्टी बजिरहेको छ किनकि जुलाईमा व्यापार घाटा ३.०५ अर्ब डलर पुगेको छ ।