Saturday, December 4, 2021
spot_img
Homeविचारभारत चेसमा अमेरिका र चीनभन्दा अगाडि

भारत चेसमा अमेरिका र चीनभन्दा अगाडि

कुनै समय भारतलाई चीनसँगसँगै विश्वशक्ति बन्ने अनुमान गरिन्थ्यो । कोभिड–१९ महामारीले देशभित्र धनजन दुवैमा उल्लेख्य क्षति पु¥यायो । यस्तो स्थितिमा खेलकुदले देशलाई दुःख भुल्न सघाउन सक्छ । यो वर्षको टोकियो ओलम्पिक खेलमा भारतले विगतको भन्दा राम्रो प्रदर्शन गर्दा भारतीयहरू खुसी भएका छन् । जबकि, झन्डै १.४ अर्ब मानिस रहेको देश ओलम्पिकको मेडल तालिकामा ४८औँ स्थानमा हुनु राम्रो प्रदर्शन भने होइन ।

यो पृष्ठभूमिमा एउटा खेलले भने भारतीयहरूलाई उत्साह प्रदान गर्ने गर्छ । भारतीय एकदमै छिटो विश्वव्यापी चेस महाशक्ति बन्ने यात्रामा देखिएको छ । भारत चेसका कैयौँ मापनमा अमेरिका र चीनभन्दा अगाडि छ भने विगतदेखि चेसको महाशक्ति रुससँग हाराहारी रहेको छ । सन् २०१२ देखि ४४ भारतीय चेसको सबैभन्दा ठूलो उपलब्धि ग्रान्डमास्टरबाट विभूषित भएका छन् । जबकि, यस अवधिमा १८ चिनियाँ र २२ जना अमेरिकी यस सम्मानबाट सुशोभित भए ।

रुस भारतभन्दा एक स्थान मात्र अगाडि छ । यो कुनै सानोतिनो उपलब्धि होइन, किनकि भारत यस खेलमा निकै पछाडि मात्र अग्रस्थानमा आउन थालेको हो । सन् १९८८ मा भारतीयले पहिलोपटक ग्रान्डमास्टर उपाधि हासिल गर्न सफल भए । भारतका लागि ग्रान्डमास्टरको संख्याजति नै तिनको उमेर पनि उत्साहप्रद देखिन्छ । पछिल्ला २० भारतीय ग्रान्डमास्टरमध्ये झन्डै आधा किशोरकालमै छन् । र, कैयौँ ग्रान्डमास्टर चेस च्याम्पियन उत्पादन गर्ने भनिएका महानगरभन्दा बाहिरबाट आएका छन् । विगतमा अंग्रेजी बोल्ने एलिटहरूभन्दा बृहत्तर जनसंख्याबाट क्रिकेट खेलाडी आउन थालेपछि भारतको क्रिकेट खेल सुधारिएको थियो । त्यसैगरी, अहिले भारतका साना सहरबाट प्रतिभा आकर्षित हुन थालेपछि चेस सुधारिन थालेको छ ।

आखिर यो प्रतिभाको छाल अहिले नै किन आयो ? कुनै देशले खेलकुदमा कसरी सफलता हासिल ग¥यो भनेर व्याख्या गर्न त्यति सजिलो छैन । तर, भारतको सन्दर्भमा भने ‘सुपरस्टारको प्रभाव’को सम्भावना नकार्न सकिँदैन । सन् १९७० को दशकमा स्विडेनले कसरी महान् टेनिस खेलाडी बियोर्न बोरी उत्पादन गर्न सक्यो, हामी कहिल्यै पनि स्पष्ट भन्न सक्दैनौँ । तर, बोरीको सफलतापछि धेरै ग्रान्डस्लाम खेलाडी आएको हामीले देख्यौँ । बोरीको जितले धेरै स्विडिस युवा खेलतर्फ तानिए ।

चेसमा भारतको आजको उत्कृष्ट प्रदर्शन निश्चय पनि पहिलो ग्रान्डमास्टर विश्वनाथन आनन्दसँग जोडिएको हुनुपर्छ । कसैले नामै नसुनेको विश्वनाथन सन् १९८८ मा अचानक विश्वको ग्रान्डमास्टर बने । लगत्तै उनले पाँच विश्व च्याम्पियनसिप जिते र २५ वर्षसम्म विश्व चेस जगत्को शीर्ष स्थानमा कायम रहे । आज उदाएका भारतीय ग्रान्डमास्टरहरू आनन्दको प्रभावले चेसतर्फ आकर्षित भएको हुनुपर्छ । तर, यसमा त्यसबाहेकका अन्य तत्वको पनि भूमिका हुनुपर्छ । डिजिटल युगअगाडि विश्वमा उच्च तहको चेस सिक्न, खेल्न र प्रतिस्पर्धा गर्नका लागि संगठनात्मक पूर्वाधारको आवश्यकता थियो, जसमा भारत सबल छैन । तर, अहिले हरेक खेलाडी इन्टरनेटमा जोडिएका हुन्छन् र चेसका विद्यार्थीहरूले खेल सिक्नका लागि सफ्टवेयर वा भर्चुअल विज्ञको सहयोग लिन सक्छन् । अनलाइन रूपमा प्रतियोगिताहरू पनि आयोजना भइरहेका हुन्छन्, जसमा टाढा–टाढाका खेलाडीले पनि भाग लिन सक्छन् ।

भारत चेसका कैयौँ आधारमा अमेरिका र चीनभन्दा अगाडि छ भने चेसको ऐतिहासिक महाशक्ति रुससँग हाराहारी पुगेको छ

डिजिटल क्रान्तिको आगमनसँगै भारतका करोडौँ युवामाझबाट चेस खेलाडी आउन सक्ने वातावरण बन्यो । स्वाभाविक रूपमा ठूलो समुदायबाट खेलाडी आउँदा तिनबाट उत्कृष्ट खेलाडी उत्पादन हुने सम्भावना उल्लेख्य वृद्धि भयो । अर्को धारणा के छ भने पछिल्लो समयमा विशिष्ट चेसयन्त्रको आगमनसँगै यो खेल स्मरण गर्न सक्ने खेलाडीले राम्रो गर्न सक्ने भएको छ । विगतमा यो चेसबोर्डमा कठिन हिसाब गर्न सक्नेले जित्ने विश्वास गरिन्थ्यो । यस्तोमा भारतको रट्ने शिक्षा प्रणालीमा हुर्किएका युवाले विशेष फाइदा पाउने अवस्था सिर्जना भएको छ । चर्चित ‘स्पेलिङ बी कन्टेस्ट’मा भारतीय मूलका अमेरिकी बालबालिकाको आधिपत्य हुनुमा पनि यही पक्ष जिम्मेवार रहेको बताइन्छ ।

तर, भारतको चेस क्रान्ति अझै पूरा भएको छैन । भारतका वर्तमान ग्रान्डमास्टरमध्येबाट कोही पनि शीर्ष दशमा छैनन् । न त कसैले आनन्दपछि विश्वको शीर्ष स्थान कायम रहिरहेका नर्वेजियन म्याग्नस कार्लसनलाई नै गतिलो चुनौती दिन सकेका छन् । चेसमा आएको नयाँ डिजिटल लोकतान्त्रीकरणका केही अँध्यारा पक्ष पनि छन् । जस्तो– चेसमा भारतीय परिवारले छोरीभन्दा पनि छोरा वा किशोरलाई प्राथमिकता दिने गरेको छ ।

धेरै किशोर पढाइ वा खेलबीच कुनलाई छान्ने भन्नेमा तनावबाट गुज्रिरहेका छन् । किनकि, डिजिटल क्रान्तिपछि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि उल्लेख्य खर्च हुने गर्छ, त्यसले गर्दा परिवार तथा खेलाडीलाई दुईमध्ये एउटा छाड्नुपर्ने बाध्यता आइपर्छ । त्यसबाहेक भारतका शीर्ष खेलाडीमा अल्पसंख्यक, त्यसमा पनि विशेष पिछडिएको दलित समुदाय तथा मुसलमान समुदायबाट निकै कम देखिन्छन् । त्यस्तै, हिन्दीभाषी विपन्न क्षेत्रका पनि कम छन् । भारतको बढ्दो ग्रान्डमास्टरमा दुईजना मात्र महिला छन् । (जबकि चीनका नौजना छन् ।) यी सब कमजोरीका बाबजुद भारतले चेसमा असाधारण सफलता हासिल गरिरहेको छ । यहाँको न्यून स्रोत तथा असमावेशीपन सम्बोधन गरियो भने चेस महाशक्तिको रूपमा भारतको भविष्य उज्यालो छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: