शेयर गर्नु होस

औषधिमाथि प्रश्न गर्ने प्रवृत्ति छैन, हाम्रो समाजमा । चिकित्सकले सिफारिस गरिदिएको औषधि चुपचाप सेवन गरिन्छ । उक्त औषधि कसरी, कुन बेला खाने भन्ने कुरामा पनि स्पष्ट हुने गरिदैन । न त औषधिको गुणवत्तामा प्रश्न गर्ने परिपाटी छ, न त मूल्यमा मोलमोलाई गर्ने नै ।

चिकित्सकले सिफारिस गरिरहेको औषधि कति स्तरिय हो, कुन कम्पनिको हो, त्यसको प्रयोग विधी के हो भनेर स्पष्ट हुने प्रवृत्ति छैन । जबकि एउटै रोगको औषधि पनि विभिन्न किसिमका हुने गर्छन् । त्यसको ब्रान्ड एवं कम्पनी फरक हुने गर्छ । त्यसैले आफुलाई सिफारिस गरिएको औषधि कुन हो ? कति सहज रुपमा उपलब्ध हुनसक्छ ? त्यसको मूल्य के हो ? यावत प्रश्न सोध्ने कि नसोध्ने ? यसै सन्दर्भमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसँग कुराकानी गरिएको छ ।

चिकित्सकले दिएको औषधिमाथि कुनै पनि बिरामीले प्रश्न गर्दैनन् । अन्य सामानको जस्तो औषधिको गुणस्तरबारे प्रश्न पनि उठ्दैन । औषधिको गुणस्तरमा प्रश्न गर्ने ठाउँ कति हुन्छ ?

नेपालको बजारमा जाने जुनसुकै औषधि पनि औषधि व्यवस्था विभागले गुणस्तर परीक्षण गरेर मात्रै पठाउने गर्छ । नेपालमै उत्पादित र विदेशबाट ल्याइने औषधिमा समेत विभागले परीक्षण गरेर पठाउने भएकोले यसमा चिकित्सकहरुले गुणस्तरमा टाउको दुखाउने गर्दैनन् । विदेशबाट आएका औषधिहरु पनि जीएनपी सर्टिफाइडहरु मात्रै बिक्री वितरण हुन्छ । त्यसैले गुणस्तर भनेको विभागले तोकेको आधारमा हुन्छ । यसमा चिकित्सकले जुन कम्पनीको औषधिमा आफूलाई विश्वास लाग्छ, त्यही कम्पनीको औषधि सिफारिस गर्छन् ।

चिकित्सकले सिफारिस गरेको औषधिमा बिरामीले जिज्ञासा र प्रश्न गर्नुपर्छ कि पर्दैन ?

पहिलो कुरा त चिकित्सकलाई विश्वास गरेर नै मान्छे अस्पतालमा जचाउन आउने हो । त्यसैले चिकित्सकले दिएको औषधिमा अविश्वास गरेर त हुँदैन । यति हुँदाहुँदै पनि बिरामीले म के औषधि खाँदैछु, कस्तो औषधि खाँदैछु, यसले के फाइदा र बेफाइदा गर्छ ? भनेर सोध्ने अधिकार बिरामीसँग हुन्छ र सोध्नु एक हिसाबले राम्रो कुरा पनि हो । हिजोआज धेरैले यस्ता जिज्ञासाहरु भने राख्ने गरेको पनि पाइन्छ ।

डा. लोचन कार्की

एउटै प्रकृतिको औषधि पनि विभिन्न कम्पनी वा ब्रान्डको हुन्छ, त्यसमध्ये कुन राम्रो हो भनेर साधारण मान्छेले पहिचान गर्न सक्छन् ? सकिन्छ भने यसको आधार के हुन्छ ?

साधारण मान्छेले त चिन्न त्यति सहज नहोला । तर चिकित्सकहरुले भने हरेक ब्राण्ड र कम्पनीको औषधिमा कुन राम्रो भनेर अनुभवको आधारमा औषधि दिइन्छ । हामीहरु अनुभवको आधारमा औषधि कुन राम्रो भनेर पहिचान गर्छाैं ।

कतिपय दीर्घ रोग लागेकाले खाने औषधिमा एकरुपता पाइँदैन । एउटै रोगमा फरक कम्पनीको औषधिको साइडइफेक्ट हुनुको कारण के हो ?

साइड इफेक्ट त जे कुरामा पनि हुन्छ । जुन कुराले इफेक्ट गर्छ त्यसले साइड इफेक्ट पनि गर्छ । जस्तो हामीले इलेक्ट्रोनिक्स डिभाइसलाई प्रयोग गर्छाैं । यसले इफेक्ट गर्छ तर बिरामी हुँदा पनि शान्तसँग बस्न सकिँदैन यो साइड इफेक्ट हो । त्यसैे साइड इफेक्ट जे कुरामा पनि हुन्छ । कुनै व्यक्तिको शरीरमा कुन कम्पनीले तयार पारेको औषधि फिट हुन सक्छ कुनैमा अर्काे कम्पनीको हुन सक्छ । उहाँहरुको बनाउने तरिका लगायतले भर पर्छ । त्यसैले यसलाई समस्याको कुरा मान्नु हुन्न ।

हरेक औषधिको प्रकृति अनुसार बिहान, दिउँसो र साँझ खाने गरिन्छ । कुनै यस्तो समय हुन्छ जुन समय सबै खाले औषधि खान सकियोस् ?

यस्तो एउटै समय भन्ने हुन्न । जस्तो थाइराइड भएकाहरुको लागि बिहान खाली पेटमै औषधि खानुपर्छ । पिसाब लाग्ने औषधि छ भने त्यसलाई राति खान दिनु नै हुन्न । यसरी औषधिको प्रकृति र रोगको अवस्थाको आधारमा समय अनुसार औषधि खानुपर्छ ।

औषधि प्रायः पानीसँगै खाने गरिन्छ । यसको पछि कुनै विज्ञान हुन्छ ?

त्यस्तो विशेष कारण त हुँदैन । पानीसँग औषधि खानुको एउटा कारण भनेको निल्न सहज होस् भनेर हो । कुनै कुनै मुखमै डिजल्भ हुने खालको औषधि हुन्छ । त्यस्तो औषधि हामी पानीसँग खाँदैनौं । कतिपय घाँटीमा अड्कियो भने यसले समस्या सिर्जना गराउन सक्छ । त्यस्तो नहोस् भन्नको लागि पनि औषधि पानीसँग नै पिइन्छ ।

मदिरा पिएको बेला नियमित रुपमा खाँदै गरेको औषधि सेवन गर्नु हुन्छ वा हुँदैन ?

त्यो पनि औषधिमा भर पर्छ । सकेसम्म त मदिरा खानै नहुने हो । तर लत बसेको मान्छेलाई खानै हुँदैन भन्न पनि नसकिएला । तर खानै परे पनि कतिपय औषधि खाँदा भने मदिरा खानुहुन्न । जस्तो डायरिया भएको छ भने त्यस्तो औषधि खाँदा मदिरा खानै हुन्न । यसले आकस्मिक स्वास्थ्य जटिलता निम्त्याउन सक्छ । त्यस्तै एन्टिवायोटिकको औषधि खाँदा पनि मदिरा खानुहुन्न । अन्य नियमित खानैपर्ने औषधिको सेवनमा लत बसेको मान्छेलाई चिकित्सकको सल्लाह अनुसार खान मिल्न सक्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box