Saturday, December 4, 2021
spot_img
Homeदेशयस्ता थिए राणाकालीन शिक्षक

यस्ता थिए राणाकालीन शिक्षक

तिनताका ब्राह्मण शिक्षकलाई ‘बाजे’ र अरू जातिका लागि ‘मास्टर साहेब’ भन्ने चलन थियो । देवीप्रसाद बाजे, पार्थमणि बाजे, तारामान मास्टर साहेब, चूडानन्द मास्टर साहेब भनिन्थ्यो । एक एक अक्षर उच्चारण गरेर मास्टर साहेब नभनी मास्साब, माड्साब, मास्साहेब भन्ने चलन पनि थियो ।

दरबार स्कुलका कक्षा र जताततै फलानो मास्टर घुस्याहा हो र फलानो मास्टरको यस्तो यस्तो बानी छ भने केटाहरूले खरीले लेखेका हुन्थे । खड्गमान सिंहले एउटा उक्ति प्रायः सबैलाई कण्ठ हुन्थ्यो भनी लेखेका छन्– दरबार स्कुल ह्याज नो रूल, ब्वाइज आर मङ्किज, टिचर्स फुल (दरबार स्कुलमा नियम छैन, केटाहरू बाँदर हुन् र शिक्षकहरू मूर्ख) ।

बुज्रुक वा पासवालाले राणाको अचाक्लीका बारेमा चुइक्कसम्म बोलेको सुनिदैन थियो । आमा बज्यैसँग यस्ता कुरा गर्दा चुप लाग्नू, धेरै सोधखोज गरेको सुनेमा जिब्रो थुत्छन् भनेर तर्साउँथे ।

कमलमणि दीक्षितले आफ्ना बाजे पार्थमणिलाई स्कुलभरिकै डरपोक संज्ञा दिएका छन् । उनका बानीका बारेमा बिर्सेको सम्झेकोमा यसरी स्मरण गरेका छन्, ‘बाजेलाई एकपटक हेडमास्टरी पनि दिइएको थियो रे । तर म त्यो बोझ लिन सक्तिन भनेर छाडेको रे । संस्कृतमा एक जनालाई फेल गरिदिएका रे । कसले थर्काएछ । नागपोखरीसम्म आइसकेका थिए, फर्किएर भाटभटेनी पुगेर नम्बर थपेर पास गराएर ल्याए भन्ने हल्ला थियो ।’

तारामान स्वाँरलाई छडी र सजाय आवश्यक पर्दैन थियो । खेलाएर पढाउने उनको बानी थियो । हाजिरी लिँदा अरूले उपस्थित र गयलको ‘पी र ए’ लेख्थे तर तारामानले ‘हा र ग’ लेख्थे । भूगोलका शिक्षक नेत्रबहादुरले जिल्लाको नाम सूत्र बनाएर पढाउँथे ।

अमरबाबुले भूगोल विषय पढाउँथे । उनी भनेपछि सबै विद्यार्थी आतङ्कित हुन्थे । उनले हरेक विद्यार्थीको नामको पछाडि ‘बहादुर’ लगाएर बोलाउँथे । शरच्चन्द्र बसुलाई बोस बाबु भनेर सम्बोधन गर्थे, उनले नेपाली लुगा लगाउँथे । पछि उनलाई देश निकाला गरिएको थियो ।

अमरबाबु निकै कडा । बङ्गाली शिक्षक, डाक्टर वा इन्जिनियरलाई ‘बाबु’ भन्ने चलन थियो त्यस बेला । बालकृष्ण समले उनको सम्झना गर्दै ‘अमरबाबुले छात्रको नाक भुइँमा रगड्न लगाइ रक्ताम्य बनाइदिन्थे । गरूडध्वजले छात्रलाई भुइँमा पछारी पिट्नुका साथै लात्तैलात्ताले हिर्काउँथे’ भनी लेखेका छन् ।

१९८९ सालमा मृगेन्द्रशमशेर र रुद्रराजले अनुरोध गरेपछि जुद्धशमशेर दरबार स्कुलमा पुरस्कार वितरण गर्न जान तयार भए । १९५८ सालमा देवशमशेरले छात्रहरूलाई पुरस्कार वितरण गरेको दिन नै उनको शासनको अन्तिम दिन थियो ।

त्यो घटनाको ३० वर्षपछि जुद्ध उस्तै कार्यक्रममा सहभागी हुन तयार भए । बालकृष्ण समले गीत लेखिदिए । गीत गाउने बालबालिकालाई जुद्धले खुशी हुँदै पाँच सय रुपियाँ पारितोषिक दिए । कृष्णप्रसाद रिमाल, श्यामकृष्ण भट्टराई, कृष्णप्रसाद तिमिल्सिना, रामकेशरी बस्नेत, शुभवीर पाँडे, प्रेमप्रसाद तण्डुकार, श्रीशमशेर थापा, शिवप्रसाद भट्टराई, सूर्यमानले गीत गाएका थिए र ती नौ जनालाई एक एकवटा असर्फी पनि दिए ।

गीत लेखेवापत बालकृष्ण समलाई एक हजार रुपैयाँ दिए । १९५८ सालको घटनाले हुनुपर्दछ स्कुलको वार्षिकोत्सव वा नयाँ स्कुलको उद्घाटनमा ‘श्री ३ महाराज’को उपस्थिति हुन्थेन । त्यस्ता कार्यक्रममा शिक्षा डाइरेक्टर सहभागी हुन्थे र कार्यक्रममा ‘श्री ३ महाराज’का तर्फबाट पठाइएको सन्देश वा भाषण पढेर सुनाइन्थ्यो । यस्ता कार्यक्रममा कहलिएका कविहरूले लेखिदिएका कविता वा गीत प्रस्तुत गर्ने गरिन्थ्यो ।

बङ्गाली शिक्षकले कलेज परिसरमा कोट, टाइ लगाउनुपर्ने नियम थियो । क्षितिशचन्द्र चक्रवर्तीले टाइ लगाउने झन्झटबाट मुक्ति पाउन धोक्रे सुरूवाल र क्रिज नभएको पाइन्ट, माथि गलाबन्द कोट लगाउँथे । दरबार स्कुलका मास्टर बाबुरामको अङ्ग्रेजी कमजोर थियो तर उनी अङ्ग्रेजी दैनिक पत्रिका ‘स्टेट्म्यान’ लिएर हिँड्थे ।

उनले घोडालाई ‘हार्स’, कुकुरलाई ‘डाग’ भनेर पढाउँथे । उनको कुटाइबाट जोगिन पान, सुपारी, मसला, लड्डु, पेडा लगिदिनुपथ्र्याे । अनि गयल भएकालाई पनि हाजिरी जनाइदिन्थे । वैद्य मास्टरलाई पछिल्तिर ‘बौलाहा मास्टर’ भन्थे ।अङ्ग्रेजी शब्दकोष पूरै कण्ठ गर्न खोज्दा उनको मगज सड्किएको भन्थे । हेडमास्टर शारदाबाबु रमाइला शिक्षक थिए । तर ‘अन द रिसिट अफ माइ मदर्स पिक्चर’ पढाउँदा रून्थे ।

मास्टर बाजेका नामबाट परिचित वासुदेव भट्टराईले विद्यार्थीलाई राम्रै तह लगाउन सक्थे । राणा परिवारलाई पढाउनु परेमा एउटा सर्त राख्थे– विद्यार्थीलाई ‘हजुर’ सम्बोधन नगर्ने । कडा मिजाजका थिए । सिंहदरबारमा राणाका कुनै छोरालाई पढाउँदा ती विद्यार्थीले वायु छाडिदिए । वासुदेवले विद्यार्थीलाई पिटे । अब वासुदेवको जागिर जाने भयो भन्ने हल्ला भयो । तर अनुशासनमा राखेको भन्दै पुरस्कृत गरिएछ ।

चन्द्रलाल सिंह बीए पनि कसैसँग नदब्ने खालका शिक्षक थिए । खान्की घटाइदिएपछि ऋषिकेश शाहले पढाउन छाडिदिए । लक्ष्मीप्रसाद देवकोटा एक सय रुपैयाँ तलबमा कलेजमा अङ्ग्रेजी पढाउँथे । कक्षाकोठामा पसेपछि टोपी फुकालेर टेबुलमा राख्दै कमिजका बाहुला माथि सारेर पढाउन थाल्थे ।

घरमा मास्टर राखेर पढाउने (ट््युसन) संस्कृति थियो । सम्पन्न जागिरे वा राणा परिवारमा यो संस्कृति बढी थियो । बालकृष्ण समलाई पण्डित पिताम्बर, मास्टर लेखनाथ, पद्मदत्त रटौरीले घरमै गएर पढाएका थिए । भीमबहादुर पाँडेले पनि त्यस बखत सबै भारदार र इज्जतदार भनाउँदाहरूले मास्टर घरमा राखेर छोराहरू पढाउने चलन रहेको पुस्तकमा चर्चा गरेका छन् ।

१९५८ सालमै गोरखापत्रमा पढाउने मास्टर शीर्षकमा विज्ञापन नै छापिएको पढ्न पाइन्छ, “मेरो घर गयाजीमा हो । मैले इन्ट्रेन्स, यफए पास गरेको बीए फेल भयाको छु । हाल सर्कारमा बक्साइ कम्याण्डर कर्णेल फौदसीं खत्री क्षेत्रीले आफ्ना नातिहरूलाई पढाउन मलाई झिकाउँदा मञ्जुर कर्णेलका नाती पढाउँछु । उनीहरूलाई पढाउने टाइम बाहेक अरू बखत मैलाई फुर्सत छ कसैलाई पढ्न इरादा भया मेरो डेरा कमलपोखरी अधिकारी कप्तानको घरमा आइ पढ्ने टाइम र फिसको ठेकान गर्नु राम्ररो हिसाबसँग पढाउने छु ।”

शिक्षाको पहिलो इस्तिहारमा नै ट््युसनका बारेमा स्पष्ट कानुनी व्यवस्था गरिएको थियो– मास्टरहरूले प्राइभेट ट््युसन लिँदा सञ्चालक समितिको इजाजत लिनु पर्दछ । स्कुलको पढाइमा हानी हुने गरी यस्तो इजाजत दिनु हुँदैन । विशेष कारण नपरी खास गरी अष्ट श्रेणी माथिको शिक्षकलाई आफूले पढाएका लड्कालाई सोही विषयमा प्राइभेट ट््युसन लिने इजाजत दिन हुँदैन इजाजत दिएमा सो विशेष कारण खोल्नु पर्दछ ।

दरबार स्कुलका अङ्ग्रेजीका शिक्षक नन्दराम उप्रेती म्याट्रिक उत्तीर्ण थिए । तर उनले एमएसम्मका विद्यार्थीलाई पढाउने गर्दथे । गणितमा कमजोर भएकाले कलकत्ता विश्वविद्यालयबाट तीन पटकसम्म अनुत्तीर्ण भएपछि आईए चटक्कै छाडे । राणाहरूको घरमा ट््युसन पढाउन जान्थे । राणाहरूको प्रिय गुरू थिए । राणाहरूका दरबारमै गई उनीहरूका छोराछोरीलाई ट््युसन पढाउने भएकाले राम्रो सम्बन्धका कारण उनी १९९० सालमा पहिलो परीक्षा नियन्त्रक बन्ने अवसर पाए । एउटा विद्यार्थीको नतिजामा गडबड भएपछि उनले जागिर छाडिदिए ।

यस्तो पनि जिन्दगीमा चन्द्रधरले लेखेका छन्, “एउटा लड्काको नम्बर जाँच्दा तल माथि परेको हुनाले उहाँलाई एक वर्षपछि स्वतः राणाहरूले निकालिदिए । उहाँलाई यसबाट कुनै किसिमको चित्त दुःखेन ।

नम्बर जोड्दा कुनै कारिन्दाले गलत ग¥यो होला तर यसको सजायको भोगी नन्दराम उप्रेतीलाई ठहराइयो । अचम्म । राणाकालीन न्याय पनि गजबको थियो । जुद्धशमशेरको इर्दगिर्द बस्ने केही व्यक्तिहरूले उनलाई यस कन्ट्रोलरको पदमा पनि बस्न दिएनन् ।”

प्रकृति अधिकारीद्वारा लिखित राणाकालीन शिक्षा पुस्तकको एक अंश

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: