काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमण क्रममा नेपाल आाउनुभएको छ ।
नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार बिहीबार बिहान कतारवाट काठमाडौं आउनुभएको हो । उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं आउनुभएको छ । उनीहरु आउदा बिमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौतामा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ । एमसीसी अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्धीत रहेको भन्दै नेपालमा बिरोध भइरहेको छ ।
आजै काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जाेनाथन ब्रुक्सले प्रधानमन्त्रीलाई भन्दा पहिला प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्ने भएका छन् ।
अमेरिकी दूतावास स्रोतका अनुसार दिउँसो एमाले अध्यक्ष ओलीबाट राजनीतिक भेटवार्ता सुरु गर्ने उनीहरूले भरे वा भाेलि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नेछन् ।
बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका उनीहरू पत्रकारहरूसँग तर्किँदै सिधै मेरिट होटल गएर बसेका छन् । बिहानको खाना उनीहरूले साढे १२ बजे अमेरिकी राजदूत र्याण्डी बेरीको कमलादीस्थित निवासमा गएर खानेछन् । त्यसपछि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकाेट जानेछन् । त्यहाँबाट फर्केर उनीहरूले याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए–नेपाल)को निरीक्षण गर्नेछन् । एमसीए नेपाल एमसीसीको प्रवर्धन गर्न गठित निकाय हो ।
सुरक्षा चुनौती देखाउँदै पत्रकार सम्मेलन नगर्ने निचोडमा पुगेका फातिमा र जाेनाथनले आजै विज्ञप्ति भने जारी गर्ने तयारी गरेका छन् । नेपालमा एमसीसी परियोजनाबारे चर्को विवाद छ । नागरिकस्तरबाटै यसका विभिन्न सर्तमाथि प्रशस्तै प्रश्न उठाइएपछि केही दिनअघि सरकारले एमसीसीलाई ती प्रश्नसहितको पत्र पठाएको थियो । त्यसको जवाफ एमसीसीले फर्काइसकेको छ । र, कुनै सैन्य रणनीति वा सामरिक स्वार्थ नरहेको जनाइसकेको छ ।
एमसीसीको विरोधमा माहौल गरम् भएकै बेला उपाध्यक्ष र सहायक उपाध्यक्ष नेपाल आइपुगेका हुन् । फातिमा एमसीसीको कम्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष हुन् । जेनाथनाले चाहिँ एमसीसीको युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिका हेर्छन् ।