काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मधेसमा दादागिरी देखाएका छन् । उनले ठाउँमा ठाउँमा आफ्नो होर्डिङ बोर्ड राखेर सहर नै कुरुप बनाएका हुन् । होर्डिङ बोर्डका नाममा राज्यको ढुकुटी त सिध्याएकै छन् त्यतिमात्र होइन कामभन्दा प्रचारबाजीमा रमाएका छन् । पब्लिसिटीको भोक राउतमा देखिन्छ । यसविरुद्ध उत्रियो राष्ट्रिय एकता अभियान । अभियानले धमाधम शहर कुरुप बनाउने होर्डिङ बोर्ड मधेसभर हटाउन थाल्यो ।
यसैक्रममा सप्तरीमा ‘मुख्यमन्त्री स्वच्छता अभियान’ लेखिएको होर्डिंङ बोर्ड हटाउँदा अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको गिरफ्तारी भयो । सोमबार साँझ सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकामा अवस्थित हनुमान मन्दिर प्रांगणमा राखिएको मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड हटाएर जलाउँदा सुनितालाई प्रहरीले पक्राउ गर्यो ।
सत्ताको आडमा मुख्यमन्त्रीले उनीमाथि कानुनी कारवाही अघि प्रहरीलाई निर्देशन दिएका छन् । व्यापक आर्थिक अनियमितता गरेर मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छता अभियानका नाममा होर्डिङ बोर्ड राखेको आरोप लाग्दै आएको छ । यस्तोमा राष्ट्रिय एकता अभियान अग्रसर भएको हो ।
यसअघि जानकी मन्दिरमा परिसरबाट पनि मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड युवाहरुले हटाएका थिए ।
रिहा नगरे आगो बाल्ने चेतावनी
राष्ट्रिय एकता अभियानले उपाध्यक्ष साहलाई रिहा नगरे मधेसमा आगो बाल्ने चेतावनी दिएको छ । अध्यक्ष विनय यादवले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हिन्दूहरुको आस्थाको केन्द्र मानिने सप्तरीको भारदहस्थित रहेको कंकालिनी मंदिरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ बोर्ड जलाएको भन्दै राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरिएको घटनाप्रति हाम्रो ध्यानार्षण भएको छ ।’
विज्ञप्तिमा हिन्दुहरुको मन्दीरहरुमा मुस्लिम समूदायबाट बनेको मुख्य मन्त्रीको फोटो अंकित तस्बीर बली प्रदान गर्ने स्थानमै होर्डिङ बोर्ड वनाई झुन्डयाउने षडयन्त्र भएको अभियानको ठहर गरेको छ ।
‘होर्डिङ् बोड लागाउँदा पनि मन्दिर समितिहरुले मूख्य मन्त्रीको कार्यकर्ता बनी बोर्ड लगाउन दिनु र संरक्षण गर्नु दुखद हो । अभियानको उपाध्यक्ष साह सहितको टोलीले होर्डिङ बोर्ड हटाउन हनुमान नगरनगरपालिकालाई आग्रह गरेपनि हटाउन नमानेपछि हिन्दु अभिन्ताहरुले बाध्य भएर होर्डिङ बोड जलाउनु परेको जानकारी गराउन चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा होर्डिङ् बोड हटाउने र जलाउने क्रममा प्रहरीद्वारा पक्राउ गरिएको अभिायानकी उपाध्यक्ष सुनिता साहलाई तत्काल रिहा गर्न जोडदार माग गरिएको छ ।
उपाध्यक्ष साह रिहा नगरे राष्ट्रिय एकता अभियान अन्दोनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ ।