नयाँ दिल्ली। तालिबान र पाकिस्तानविरुद्ध भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शन गरिएको छ । अफगानिस्तानका शरणार्थीले तालिबान र पाकिस्तानविरुद्ध मंगलबार दिल्लीमा प्रदर्शन गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरुले हातमा पर्चा बोकेका थिए । पर्चामा ‘आतंकवाद र पाकिस्तान एउटै सिक्काका पाटा हुन्’ र ‘आइएसआइ अफगानिस्तान छोड’ जस्ता नारा लेखिएको थियो ।
‘मेरा आफन्तहरु पन्जशीरमा बस्थे । पाकिस्तानी एयरफोर्सले मेरा आफन्तहरु सबैलाई मारिदियो । त्यसैले हामी पाकिस्तानको विरुद्ध प्रदर्शन गरिरहेका छौँ’ एक प्रदर्शनकारीले भारतीय समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।
यस्तै अर्का प्रदर्शनकारीले मिडियासँग भनेका छन् ‘आइएसआई र तालिबानको साठगाँठ चलिरहेको छ । हामी चाहन्छौँ अफगानिस्तान कसैको कब्जामा नपरोस् । अफगानिस्तान स्वतन्त्र बनोस् ।’ प्रदर्शनकारीहरुले अफगान प्रतिरोध आन्दोलनको समर्थनमा पनि नाराबाजी गरेका थिए ।