काठमाण्डौ । वडाध्यक्षले व्यापक भ्रष्टाचार गरेको भन्दै धनुषा जिल्लाको धनौजी गाउँपालिकाको वडा नंं ३ कार्यालयमा वडासदस्यसहित स्थानीयबासिन्दाहरुले तालाबन्दी गरेका छन् ।
झोझीकटैयाका वडाध्यक्ष रामदुलार मण्डलले व्यापक आर्थिक हिनामिना गरेको भन्दै सोही निर्वाचित वडा सदस्य तथा स्थानीयबाँसीले बुधबार प्रदर्शनसहित वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडासदस्यहरु रामकुमार महतो, रामखेलावन पासवान, समाना खातुन र जीतोदेवी मण्डल सहितका वडा बाँसीहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै वडाध्यक्षमाथि छानविनका लागि माग गरेका छन् ।
गत बुधवार देखि नै तालाबन्दी गरेपछि वडाध्यक्ष मण्डलले केही कामहरुको शुरुआत गरेपनि धेरै शीर्षकको काम नै नगरको तर भुक्तानी लिएको स्थानीय बाँसीहरुको कथन रहेको छ । गरिव तथा विपन्नका लागि कम्बल वितरणका गर्न वडालाई पालिकाले १२ लाख रकम विनियोजन गरेपनि हालसम्म कम्बल वितरण नगरेको नेपाली काँग्रेसका वडा सभापति राम नारायण यादवले आरोप लगाए ।
वडाध्यक्ष मण्डलले सिलाई मेसिनका लागि ३ लाख, झोझी टोल सडक निर्माणमा ४४ लाख मध्ये १० लाखको काम भएको उपभोक्ता समितिका अध्यक्ष सिताराम मण्डलले अनियमितता गरेको दावी जनता समाजवादी पार्टीका वडाध्यक्ष शिशंकर साहको रहेको छ ।
आँखा उपचार केन्द्रका लागि औषधि, मेशिन वापत १४ लाख बजेट लिएको भएपनि औषधि तथा मेसिन खरिद नगरेको, आयुर्वेद औषधालयको १८ लाखको चेकको निकाशा भएपनि औषधि खरिद नगरेका, दुर्गामन्दिरको निर्माणका लागि ५ लाख लिएपनि झोझीकटैयामा दुर्गामंन्दिर नै नभएको लगायतको काममा वडाध्यक्षले अनियमितता गरेको वडासदस्य तथा स्थानीय बासिन्दाहरुको आरोप छ ।
यता वडाध्यक्ष रामदुलार मण्डलले कतिपय योजनाहरु गाउँपालिकाले नै गरेको बताउदै आफूसंग भएको योजना तथा कार्यक्रम चाडै कार्यान्वयन गर्ने बताए ।