काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य तीन सय रुपैयाँसम्म बढाउने निर्णय गरेका छन् ।
बुधबार बसेको इन्टरनेट सेवा प्रदायक ढसंघ नेपाल (आइस्पान)को बैठकले मुल्य बढाउने निर्णय गरेको हो । ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरिएको छ ।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीले हाल सबै सेवा प्रदायकबाट पत्र संकलनको काम भइरहेको जानकारी दिए । उनका अनुसार हालसम्म सुबिसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक, इस्टलिंक लगायत ठूला सेवा प्रदायकका पत्र संकलन भइसकेका छन् ।
‘हामी सबै सेवा प्रदायकले इन्टरनेटको मूल्य वृद्धि गर्न प्राधिकरणमा स्वीकृतिको लागि पत्र पठाउने तयारी गरेका छौँ,’ उनले भने, ‘लामो समयदेखि पोल भाडा र फाइबरको मूल्य वृद्धि भएकाले यो कदम चाल्ने निर्णय गरेका हौं ।’
यसअघि नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपीजी फाइबरको भाडादर वृद्धि गरी एक वर्षमा प्रतिकिमी कर बाहेक ३२ हजार पुर्याएको थियो । जुन पहिलेको तुलनामा दोब्बर हो ।