काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ ।
डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
वीरगञ्जका व्यवसायीले प्रधानमन्त्री कार्यालयमै पुगेर तत्काल सीमानाकाबाट निजी सवारी साधनको आवतजावत खोलेर होटल र पर्यटन व्यवसायलाई जोगाउन माग गरेका छन् ।
व्यवसायीको ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमानाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनु भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।
कोरोना महामारी नियन्त्रणका लागि डेढ वर्षअघि रोकिएको निजी सावारी साधनको आउजाउ अहिलेसम्म नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदन पुर्याएको र हजारौंलाई रोजगारी प्रदान गरेको व्यवासाय धरापमा पर्दा अर्बौं रुपैयाँ लगानी डुब्ने पनि व्यवसायीले बताएका छन् । ‘नेपालमाआउने सबैभन्दा बढी पर्यटक भारतीय नै हुन् ।
सीमाक्षेत्रमा ८० प्रतिशतहोटल भारतीय पाहुनामा आधारित छन्,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि भारतीय सीमा नाकाबाट हुने सवारी आवागमनमा मात्र राख्दा यो व्यवसाय नराम्ररी प्रभावित भएको छ ।’
प्रतिबन्धका कारण भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटक आउन छोडेको अध्यक्ष पन्तले बताए । वीरगञ्ज आसपासको क्षेत्रमामात्रै रहेका २०० भन्दा बढी होटलहरुले सञ्चालन खर्च पनि धान्न नसकेको उनले बताए । कतिपय होटलहरु त बन्द भइसकेको पनि उनले बताए ।
पछिल्लो समयमा सीमानाकाबाट दैनिक हजारौं संख्यामा सर्वसधारणहरुको निर्वाध रुपमा पैदल आवतजावत भइरहेको अवस्थामा निजी सवारी साधन रोक्नुको औचित्य नभएको पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।