काठमाडौं । प्रतिनिधि सभाले विनियोजन विधेयक २०७८ प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको छ । असोज ४ गतेको प्रतिनिधि सभाबाट पारित भइ सोहि दिन राष्ट्रिय सभामा पठाइएको विधेयक बिहीवार राष्ट्रिय सभाबाट पारित भएको थियो ।
राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा फिर्ता आएको विधेयक सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको हो ।
सभामुखले प्रमाणित गरेको विधेयक राष्ट्रपतिको कार्यालयमा पठाइएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
राष्ट्रपतिबाट सो विधेयक प्रमाणीकरण भएपछि भदौ ३१ गतेदेखिको ‘बजेट होलिडे’ अन्त्य हुनेछ ।
बजेटका पूरक विधेयकका रुपमा रहेका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीवार प्रतिनिधि सभाबाट पारित भएका छन् ।
ती विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि बजेट पूर्ण रुपमा कार्यान्वयनमा आउने छन् ।
विधेयक पारित भएपछि संसद सचिवालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले भोलिदेखि बजेट कार्यान्वयनमा जाने बताए ।
पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेश मार्फत जेठ १५ गते ल्याएको बजेट प्रतिस्थापनका लागि सरकारले भदौ २५ गते विनियोजन विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो ।