Thursday, December 9, 2021
spot_img
Homeअन्तराष्ट्रियअस्तित्वको संकटमा पाकिस्तान

अस्तित्वको संकटमा पाकिस्तान

अहिले पाकिस्तान अस्तित्व संकटको सामना गर्दै छ । जलवायु परिवर्तनले मुलुकका सारा जनसंख्याको जीवन एवं जीविकालाई प्रभावित गर्ने निश्चित छ ।
उत्तरी युरोप र चीनमा भीषण बाढी, अमेरिकामा भयानक डढेलो र विश्वव्यापी गर्मीको लहर ल्याएको प्रचण्ड गर्मीयुक्त एवं विध्वंसात्मक ग्रीष्मकालीन ऋतु अर्थात् अगस्ट २०२१ मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च (आइपिसिसी) ले एक प्रतिवेदन प्रकाशित गरेको छ । प्रतिवेदनले विश्व तापमान वृद्धिले निम्त्याएको संकट मोटामोटी रूपमा अपरिवर्तनीय रहेको देखाएको छ । हामीले बढीमा वातावरण एवं पारिस्थितिक प्रणालीलाई तहसनहस हुनबाट जोगाउन मात्रै सक्छौँ ।
प्रतिवेदनले आउँदा दशक एवं शताब्दीहरूमा ध्रुवीय तथा हिमालय क्षेत्रका हिमताल लगातार र अपरिवर्तनीय रूपमा पग्लिरहने गम्भीर निष्कर्ष सतहमा ल्याइदिएको छ । ध्रुवीय क्षेत्रबाहेक विश्वभर सबैभन्दा धेरै हिमताल पाकिस्तानमा छन् । यी हिमतालले भारत र पाकिस्तानमा विभाजित सिन्धु जलाशय (इन्डस बेसिन) क्षेत्रका संसारकै पुरानो एवं मलिलोमध्येका उपत्यकाहरूलाई सिञ्चित गरिरहेको छ । सिन्धु जलाशय क्षेत्र २१ करोड ६० लाख जनसंख्या भएको पाकिस्तानको ७५ प्रतिशत मानिसको वासस्थान हो ।
पाकिस्तानका पाँच मुख्य सहरी केन्द्रहरू औद्योगिक एवं घरेलु प्रयोजनका लागि सिन्धु नदीमा निर्भर छन् । अर्थव्यवस्था लगातार रूपमा संकटमा परिरहँदा पनि नियमित कृषि चक्रहरूका कारण पाकिस्तानी अर्थतन्त्र चलायमान थियो । तथापि आइपिसिसी प्रतिवेदनको निश्चितप्रायः निष्कर्ष हेर्ने हो भने सन् २०५० भित्र मुलुक जलविहीन हुने देखिन्छ ।
पाकिस्तान मात्रै जालावायु परिवर्तनको परिणामहरूको सामना गर्ने न्यून आय भएको मुलुक होइन । चीन एवं अमेरिकाजस्ता औद्योगिक रूपमा सम्पन्न राष्ट्रहरूलाई हरित गृह ग्यास उत्सर्जन गर्न बन्द गर भनेर याचना गर्ने मुलुकहरूमा पाकिस्तान एक्लो होइन । पाकिस्तान, मालदिब्स र अन्य द्विपीय मुलुकहरू वैश्विक तापमान वृद्धिको परिणामबाट असंगत रूपमा प्रभावित हुने निश्चितप्रायः छ । यद्यपि अन्य मुलुक पनि संयुक्त राष्ट्र संघमा जलवायु परिवर्तनका मुद्दालाई लिएर जोडतोडसाथ लागिपरेका छन्, तर पाकिस्तानले आफ्नो सुरक्षित भविष्यका लागि गर्नुपर्ने न्यूनतम काम पनि गरेको छैन ।
अबका केही दशकमा जलवायु परिवर्तन पाकिस्तानको सबैभन्दा ठूलो सुरक्षा चुनौती हुनेछ भन्नु अतिशयोक्ति हुनेछैन । शुद्ध पानीका लागि पाकिस्तान गैरध्रुवीय हिउँमा सबैभन्दा बढी निर्भर छ । त्यस अर्थमा पाकिस्तानले सबैभन्दा बढी हिउँआश्रित शुद्ध जलस्रोत गुमाउनेछ । तथापि पाकिस्तान सरकार यो आउँदो संकटबारे पूरै बेखबर देखिन्छ । सन् २०३० सम्ममा पाकिस्तानले ६० प्रतिशत विद्युतीय ऊर्जा नवीकरणीय स्रोतहरूबाट उत्पादन गर्ने आफ्नै लक्ष्यमा पुग्न पनि ठोस कदम चालेको छैन । हालको अवस्थामा पाकिस्तानमा ६० प्रतिशत ऊर्जा पेट्रोलियम पदार्थबाट उत्पादन हुन्छ ।
पाकिस्तानले ठूला वातावरणीय चुनौतीहरूको सामना गर्न थालिसक्यो । गर्मीको लहरले उल्लेख्य संख्यामा मानिसको ज्यान लिन थालिसकेको छ र नियमत हुने कृषि उब्जनीको चक्रमा गडबडी देखिन थालेको छ । यसै वर्ष पाकिस्तानको सबैभन्दा ठूलो सहर कराची र राजधानी इस्लामावाद विनाशकारी बाढीको चपेटामा परे । त्यसबाहेक आर्थिक रूपमा महत्वपूर्ण रहेको चीनसँग जोड्ने आठ सय ६ किलोमिटर लामो काराकोरम राजमार्ग पनि थुप्रैपटक पहिरोका कारण अवरुद्ध भयो । स्थानीय एवं अन्तर्राष्ट्रिय वातावरण विज्ञहरूले यदि तत्परतासाथ पहलकदमी नलिने हो भने पाकिस्तान र समग्र दक्षिण एसियालाई गम्भीर असर गर्ने चेतावनी दिएका छन् । उनीहरूले दशकौँदेखि पाकिस्तानका हिमतालहरू पग्लिनेछन् र केही समयपश्चात् पाकिस्तान जलविहीन हुनेछ भन्ने भविष्यवाणी गरेका थिए । अहिले आइपिसिसीले पनि अनिश्चित भविष्यमा पाकिस्तान जलविहीन हुनेछ भनेर देखाएको छ ।
प्रमाणहरू बढ्दै जाँदा पनि पाकिस्तानले कुनै पनि किसिमको पहलकदमी लिइरहेको छैन । यद्यपि पाकिस्तानमा जलवायु परिवर्तनलाई बुझ्न र यसका असरविरुद्ध जुध्न स्थानीय रूपमा काम भने भइरहेका छन्, सिम्साल ट्रस्टलाई उदाहरणका रूपमा लिन सकिन्छ । तर, सिम्साल ट्रस्टलगायत संस्थाका प्रयासमा राज्य र सेनाबाट रुकावट एवं अवरोध सिर्जना भइरहेको छ । राज्य र सेनाले चीन तथा भारतसँगको सीमामा रहेको सामरिक भूमिमा वातावरणीय एवं संरक्षणका योजना÷कार्यक्रमलाई नियन्त्रण र निरुत्साहन गर्ने गरेका छन् । सन् २०१८ मा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै इमरान खानले मुलुकमा भइरहेको वनविनाश एवं जलवायु परिवर्तनसँग जुध्न १० लाख बिरुवा रोप्ने घोषणा गरेका थिए । यो प्रयास सराहनीय भए पनि पुरानो वन–जंगललाई नयाँ बिरुवाले प्रतिस्थापन गर्न सक्दैन । स्मरण रहोस्, प्रतिस्थापन नहुने कुरा एक स्थापित तथ्य हो । प्राचीन हिमालीय एवं शंकुवृक्ष वनहरू उत्तरी पाकिस्तानी पारिस्थितिक प्रणालीको जग नै हो भन्दा अतिशयोक्ति हुँदैन, अर्थात् यी प्राचीन वनहरूले पाकिस्तानका हिमताल, नदी एवं मलिला उपत्यकाहरूलाई सन्तुलनमा राखेका छन् । त्यस
अर्थमा यी प्राचीन वन अचल हुन् ।
अहिले पाकिस्तान अस्तित्व संकटको सामना गर्दै छ । जलवायु परिवर्तनले मुलुकको एक हिस्सा वा एक क्षेत्रलाई मात्र नभई मुलुकका सारा जनसंख्याको जीवन एवं जीविकालाई प्रभावित गर्ने छ । विडम्बना, यो वर्ष आइपिसिसीले भनेझैँ हामी पेट्रोलियम ऊर्जाको अनियन्त्रित खपतले निम्त्याएको क्षतिलाई सुधार गर्ने ठाउँमा छैनाँै । अवश्यम्भावी विनाशको बाटोमा लाग्ने वा पृथ्वीलाई जोगाउन सामूहिक रूपमा पहलकदमी लिने ? पाकिस्तान एवं सारा विश्वमा हामीसँग केवल यिनै दुई विकल्प बाँकी छन् ।
(अलजजिराबाट : हैदर कलेज अफ बुस्टरकी राजनीतिशास्त्र एवं वातावरण अध्ययनकी उप–प्राध्यापक हुन्)  नयाँ

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

भर्खरै प्रकाशित

उखुको मूल्य बढ्ने

Recent Comments

%d bloggers like this: