एजेन्सी । क्यानडामा भारतीय मूलकी अनिता आनन्द रक्षामन्त्री बनेकी छिन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले मंगलबार मन्त्रिपरिषद् हेरफेर गरेर आनन्दलाई रक्षामन्त्री नियुक्त गरेको बिबिसी हिन्दीले जनाएको छ।
यसअघि भारतीय मूलकै हरजित सज्जन क्यानडाका रक्षामन्त्री थिए। पूर्वप्रहरी अधिकृतसमेत रहेका सज्जनलाई यौन दुराचारको आरोप लागेपछि विपक्षी दलले संसदमा उनको राजीनामा मागेको थियो। भारतीय मूलकै आनन्दलाई रक्षामन्त्री नियुक्त गरेर प्रधानमन्त्री ट्रुडोले सन्तुलन कायम गर्ने प्रयास गरेको बताइएको छ। आनन्दले यसअघि सार्वजनिक सेवा तथा खरिद मन्त्रालय सम्हालिसकेकी छिन्। वकिल तथा अनुसन्धानकर्ताका रूपमा काम गरिसकेकी आनन्द युनिभर्सिटी अफ टोरन्टोमा कानुन विषयमा प्राध्यापकसमेत रहिसकेकी छिन्।
ट्रुडोसहित जम्मा ३९ सदस्यीय क्याबिनेटमा १९ जना महिलामन्त्री रहेका छन्।