काठमाडौं । लागुऔषध कारोवारीलाई आर्थिक लाभ लिएको आरोपमा धनुषाका एसपी प्रकाश रानाभाट कारवाहीमा परेको प्रकरण नसेलाउँदै सिराहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिरालाल पाण्डेले लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई बिना कारवाही छाडिदिएका छन् ।
सिराहा प्रहरीले पक्राउ गरेको एकदिन पनि हिरासतमा नराखीकन अनुसन्धान नै नगरी सुटुक्क छाडेका हुन् । सिराहाको सीमा क्षेत्र माडरबाट पक्राउ परेका सिराहा नगरपालिका वडा नंं. १८ का वडाध्यक्ष राम सोगारथ यादवलाई उनले बिना अनुसन्धान छाडेका हुन् । प्रहरीले वडा अध्यक्षको लागु औषध नभएको भन्दै छाडेका हुन् ।
‘हामीले पक्राउ गरेर ल्यायौं, एसपी सापले वडाध्यक्षको लागुऔषध होइन भनेर एकै दिनमा छाडिदिनु भयो’, जिल्ला प्रहरी कार्यालय सिराहका एक अधिकारीले भने । उनले हतार हतारमा वडाध्यक्षलाई छोडनु रहस्यमय भएको बताए ।
गत मंगलबार प्रहरी सञ्चारले जिल्ला र संघीय कार्यालयमा प्रेषित गरेको विवरणमा चाहिँ वडाध्यक्ष यादवको मोटरसाइकललाई माडरको सीमा क्षेत्रबाटै प्रहरीले पछ्याएको उल्लेख गरिएको थियो । बीओपी माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान देवेन्द्रकुमार यादवले फोन गरेर इलाका प्रहरी कार्यालय, माडरका प्रहरी जवान मनोजकुमार राउतलाई भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकल लागूऔषध लिएर आएको र आफ्नो चेकपोइन्टबाट क्रस भएको सूचना दिएको सञ्चारको विवरणमा उल्लेख गरिएको थियो छ’, सिराहा प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार माडर बजार काली चोकमा नियमित ड्यूटी रहने प्रहरीलाई सो मोटरसाइकल रोकेर चेकजाँच गर्नु भनेको हुँदा प्रहरी जवान राउतले तत्कालै सोही अनुसारको जानकारी गराएको र प्रहरीको टोलीले मोटरसाइकललाई खोजतलास गर्दा कालीचोकमा रहेको चेकप्वाइन्ट क्रस भइसकेको थियो । प्रहरी ड्यूटीमा रहेका प्रहरीले खोज्दा, काली मन्दिरको उत्तरपट्टी सिराहातर्फ आउने बाटोको पश्चिम भागमा स १ ब ९३८ नम्बरको सरकारी प्लेट भएको मोटरसाइकल रोकी राखेको अवस्थामा फेला परेको र त्यसमा लागुऔषध रहेको जनाइएको थियो ।
प्रहरीले मोटरसाइकल धनीबारे खोजविन गर्दा यादवले नै प्रयोग गर्ने गरेको खुलेको थियो । प्रहरीले अगाडिको भाइजरभित्र मिटर बक्समाथि मोटरसाइकल पुछ्ने कपडामुनि नाइट्रोभेट १० लेखिएको एक पातामा १५ ट्याब्लेट अवैध लागूऔषध फेला परेको थियो । त्यसपछि थप अनुसन्धानका लागि मोटरसाइकल र लागूऔषध बरामद गरेर वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको थियो तर एसपी पाण्डेले यादवको संलग्नता नरहेको भन्दै किन छाडे भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।
‘सूचना दिने व्यक्ति गलत भए उनको मोटरसाइकलबाट कसरी लागुऔषध बरामद भयो भन्नेबारेमा प्रहरीले केही बताएको छैन’, जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने । पाण्डे सिराहामा गएदेखिनै विवादमा तानिएका छन् । यसअघि पनि उनको आदेशमा छाडिएकोको तस्करीको गाडी उनी मातहतकै ईलाका प्रहरी कार्यालय लाहानले नियन्त्रण लिएको थियो तर उनकै दबाबमा पछि गाडी धनी फेला नपरेको भन्दै छाडिएको थियो ।
यतिबेला सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिराहाका छोटी भन्सार नाकामार्फत बिना भन्सार सामान ल्याउने क्रममा एसपी पाण्डेलाई आफ्नो पक्षमा पार्न सफल भएको समाचारमा जनाइएको छ । तस्करहरूले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेको समाचार स्रोतले बतायो ।
सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी व्यापक मात्रामा आइरहेको बताइन्छ । सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिराहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर (खैरटोका) भन्सार कार्यालयका रुपमा रहेका छन् ।