काठमाडौं। चीनको डेब्ट ट्र्यापमा पर्ने अवस्थामा रहेको पाकस्तिानलाई साउदी अरबले ३ अर्ब अमेरिकी डलर दिने घोषणा गरेपछि प्रधानमन्त्री इमरान खानले साउदीलाई धन्यवाद दिएका छन् । ३ अर्ब अमेरिकी डलर दिनेभएपछि प्रधानमन्त्री खानले साउदीलाई धन्यवाद दिएको अल रियाद समाचारपत्रलाई उद्धृत गर्दै डनडटकमले लेखेको छ ।
‘यो वर्ष ३ अर्ब अमेरिकी डलर दिने र प्रशोधित पेट्रोलियम पदार्थका लागि १ अर्ब २० करोड डलर निकासा गर्ने घोषणा गरेकोमा साउदी अधिराज्यप्रति म निकै आभारी छ’, खानलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।
साउदी अरबले प्रदान गर्ने आर्थिक सहयोगबाट विश्वभर बढिरहेको मूल्यवृद्धिबीच पाकिस्तानको भुक्तानी सन्तुलन कायम राख्न मद्दत पुग्ने खानको भनाइ छ । त्यस्तै, पाकिस्तान र साउदी अरबबीच लामो ऐतिहासिक सम्बन्ध रहेको पनि खानले बताएका छन् ।
यसबाहेक, मुस्लिम विश्वको एकताका लागि पाकिस्तान र साउदी अरबले भूमिका खेल्न सक्ने पनि खानको भनाइ थियो । साथै, पश्चिमी मुलुकमा इस्लाम धर्मप्रति बढ्दो खतरामाथि जोड दिँदै खानले भने ‘पश्चिमी जगतमा इस्लाम धर्मप्रति बढ्दो खतरा सबैको चिन्ताको विषय हो । हामीले आतंकवाद इस्लाम धर्मको सक्कली अनुहार कहिल्यै नभएको र भविष्यमा पनि नहुने भएकाले सदभाव एवं शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्छौं ।’