Monday, November 29, 2021
Google search engine
Homeदेशसीमामा पुगेर चीनलाई नियाल्दा जे देखियो …

सीमामा पुगेर चीनलाई नियाल्दा जे देखियो …

शेयर गर्नु होस

१० वर्ष पहिला पारी (चीन) का मान्छेलाई एकदम दु:ख थियो । गाडी आएपछि सुखी भए । हिउँदमा हाम्रो गाउँ (हुङगोङ) तिर एक छाक खानाको लागि दाउरा टिप्ने, भारी बोक्ने काम गर्थे । हामीले ज्याला दिएर काममा पनि लगाउँथ्यौं । तर अहिले त गाडी आएर यहाँ (नेपाल) का मान्छे पारी (चीन) काम गर्न जान्छन् ।

१८ अक्टोबर २०२१ को बिहान ७:१५ मा हामी संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको छुम्सेर गाउँबाट किमाथाङ्कातिर लाग्यौं । छुम्सेर गाउँलाई छोडेपछि हामीले कतै जंगल, कतै भिर, कतै खोचको बाटाहरू छिचोल्यौं ।

झरना हेर्‍यौं र खोलानाला तर्‍यौं । अरुण नदीलाई मुनितिर पारेर दुई घन्टा तेर्सो र दुई घन्टाको उकालो ओरालो अनि फेरि एक घन्टाको उकालो हिँडाइ पश्चात दुङ्गोक्पा भन्ने ठाउँमा पुग्यौं ।

दुङ्गोक्पामा दुई वटा गोठ थिए र किमाथाङ्का जलविद्युत आयोजनाको पावर हाउस पनि त्यही थियो । किमाथाङ्कातिरबाट आएको सडक पनि त्यहीँ भेटियो । डेढ घन्टा यही सडकलाई  पछ्याउँदै हामी बरुण संरक्षण क्षेत्रको चेकपोष्टमा पुग्यौं । चेक पोष्टबाट स्पस्टै देखियो चीनको देन्डिङ गाउँ । मलाई मनमनै लाग्यो- ‘शायद त्यही गाउँ नै किमाथाङ्का होला ।’

गाउँ मुन्तिर सेतो रंगको एउटा विशाल सेतो आकारको भवन थियो । त्यो भन्सारको भवन होला र त्यही वरिपरिका घरहरू नेपालीहरूको होला भन्ने लागेको थियो । मैले उद्धव सरलाई सोधेँ, ‘त्यो पारिको गाउँ किमाथाङ्का हो ?’

उनले मुन्टो हल्लाउँदै भने- ‘कहाँ हुनु ? हाम्रो किमाथाङ्कामा २०-२५ वटा घरहरू झुरुप्प एक ठाउँमा छ, बाँकी घरहरू छरिएको छ ।’

किमाथङ्काबाट देखिने चीनको देन्डिङ गाउँ

बरुण संरक्षण क्षेत्रको चेक पोष्टबाट ढुङ्गाको सिँढी हुँदै बाटो ओरालो लाग्छ । खेतभरि लहलहै पाकेको कोदो बाली, ढुङ्गा छापिएका फराकिला बाटो, बाटो माथि र मुनि लस्करै रहेका टिनले छाएका घर हेर्दै हामी ओरालो झर्‍यौं ।

केहीबेर पछि एउटा विसौनीमा दुई जना मानिसहरू सुस्ताइरहेका भेट्यौं । हामीले सोध्यौं- ‘फिन्जोक सरको घर कुन हो ?’

एक जना भाइले विसौनीबाट तलतिर देखाउँदै संकेत गरे, ‘ऊ त्यो तलको लस्करै रहेको चौथो घर हो ।’ ती भाइलाई धन्यवाद टक्रयाउँदै हामी ओरालो लाग्यौं ।

हामीले छ्युमसेरमा बास दिने ल्हाक्पा दाइसँग किमाथाङ्कामा कसकोमा बस्ने भन्ने जिज्ञासा राखेका थियौं । ल्हाक्पा दाइले नै सुझाएका थिए- फिन्जोक सरकोमा बस्नुस् ।

जगबहादुर बुढा

स्थायी घर हुङगुङ भएका फिन्जोक सर विगत १०-१२ वर्षदेखि किमाथाङ्कामा शिक्षण पेशामा आवद्ध रहेछन् । उनले किमाथाङ्कामा आफ्नै घर बनाएर होटल पनि चलाएका रहेछन् । होटल चाहिँ उनकी श्रीमतीले सम्हाल्ने रहिछन् । प्रायः बाहिरबाट किमाथाङ्का जाने पाहुनाहरू उनकै होटलमा बस्दा रहेछन् । ल्हाक्पा दाइको सुझावलाई मनन गर्दै हामी फिन्जोक सरको होटेल सोध्दै गयौं ।

दिउँसो ३:१५ बजे फिन्जोक सरको होटेलमा पुग्यौं । उनलाई हामीले रिताक गाउँमा भेटेका थियौं र होटेलमा उनको श्रीमती र सानी छोरी थिए । हामीले बास पाइन्छ कि भनेर सोध्यौं । सहज जवाफ आयो मुसुक्क मुस्कुराउँदै, ‘बास त पाइन्छ नि हो ।’

हामी झोला बिसाउँदै भित्र छिर्‍यौं र चिया अर्डर गर्‍यौं । सेलाएको शरीर चियाले तताउन थाल्यो । उनले हामीलाई आराम गर्ने कोठा देखाइन् । हामी शरीर सरसफाइ गर्नतिर लाग्यौं ।

काठमाडौं, धरान, तोप्केगोला, थुदाम, रिताक, छ्युम्सेर हुँदै किमाथाङ्का पुग्दा दुई हप्ता पुगेको थियो र नुहाउन नपाएको करिब दुई हप्ता भएको थियो । होटलमा तातो पानी पनि आउने रहेछ र हामीले क्रमशः नुहाइधुहाइ पनि गर्‍यौं ।

भोलिपल्ट एकदिन विश्राम गर्ने र पर्सि किमाथाङ्काबाट हुङगुङ लाग्ने योजना थियो । तर बेलुकादेखि नै पानी पर्न शुरु गर्‍यो, रातभर पानी परिरह्यो । हुँदा-हुँदा तीन दिन लगातार पानी पर्‍यो । प्रकृतिसँग कसको के लाग्छ र ? हामी तीन दिन किमाथाङ्कामै रोकिनु पर्‍यो ।

हामी गएको भोलिपल्ट फिन्जोक सर पनि रिताकबाट फर्किए । दिउँसो पनि पानी परिरहेकाले चिया र तोङ्बाको चुस्की लिँदै फिन्जोक सरसँग गफिँदै जसोतसो तीन दिन कटाइयो ।

समुद्री सतहदेखि २२४८ मिटर उचाइमा रहेको किमाथाङ्का पूर्वी नेपालको प्रदेश नम्बर १ संखुवासभाको एउटा विकट क्षेत्रमा अवस्थित नेपालकै एउटा महत्वपूर्ण नाका हो । अलि भिरालो र छरिएर रहेको बस्ती, ढुङ्गाका गारा चिनेर घेरेको कोदो बारी र मकैबारी किमाथाङ्काको पहिचान हो । गाउँको तलपट्टी चीनतिरबाट उद्गम भएर आउने मन्द गतिमा बग्ने अरुण नदीले दुई देशको सीमा छुट्याएको रहेछ ।

नेपालको बहुचर्चित आयोजनामध्येको कोशी करिडोर अन्तर्गत पर्ने विराटनगरको रानी भन्सारदेखि उत्तरमा किमाथाङ्कासम्मको यो राष्ट्रिय राजमार्ग हो । किमाथाङ्का गाउँ भोट खोला गाउँपालिका अन्तर्गत वडा नं. १ मा पर्दोरहेछ । किमाथाङ्कामा जम्माजम्मी ८८ घरधुरी रहेका छन् ।

त्यसमध्ये एक एक घर लिम्बु, राई र श्रेष्ठ रहेको र बाँकी सबै भोटेहरू बस्दा रहेछन् । भोटेहरूभित्र पनि नावा, च्याबा, ङोम्बा, स्याबा र ठोमा थरका रहेछन् । त्यसमध्ये ८ घर जति तल हुङगुङ गाउँबाट आएर बसेका रहेछन् । पसल र होटल चलाउनेहरू भने तल हुङगुङबाट गएकाहरू रहेछन् । त्यहाँका स्थानीय वासिन्दा कृषि र पारी (चीन) गएर ज्याला मजदुरी गर्दा रहेछन् ।

हाम्रो तीन दिने बसाइका क्रममा त्यहाँको बारेमा धेरै जानकारी लिन पाइयो । सीमाको सम्बन्धमा पनि हामी गफियौं । फिन्जोक सर भने, ‘चीनले सीमा मिचेको इतिहासमा कमै छ । किमाथाङ्कामा पनि सीमा मिचेको छैन । अलि अलि बालुवा निकाल्दा पनि यता नेपालतिरको प्रहरीसँग छलफल गरेर मात्र निकाल्छन् । आफ्नो पट्टी अरुणको बालुवा निकालेर लगेको छ तर सिमाना सारेर मिच्ने काम गरेको छैन ।’

उहाँको कुरालाई मनन गर्दा वास्तवमा जसरी भारतसँग नेपालको सीमा विवाद दिनानुदिन हुन्छ त्यसरी चीनसँग खासै यस्ता विवादहरू बिरलै सुनिन्छ ।

तोङ्बाको एक चुस्की लिँदै फिन्जोक सरले फेरि थपे, ‘चिनियाको काम गर्ने तरिका नै बेग्लै छ । उनीहरू रात र दिन गरी दुई-तीन सिफ्टमा काम गर्छन् । सरकारी भवन र बाटो निर्माण गर्दा इस्टिमेट अनुसार मापदण्ड पुर्‍याएर काम गर्छन् । यदि मापदण्ड नपुर्‍याएमा अनुगमन गर्दा कमसल देखिएमा त्यसलाई भत्काएर पुन निर्माण गर्न दिन्छन् । पारी (चीन) एउटा स्कूल निर्माण गरेर तीन तला भएको थियो, अनुगमनमा आएकाहरूले अनुगमन गर्दा इस्टिमेट अनुसारको मापदण्ड पुगेको रहेनछ, फेरि त्यसलाई भत्काएर बनाउन लगाए । हाम्रो देशमा भएको भए यताउती मिलाएर पास गरी हाल्थ्यो होला ।’

किमाथाङ्का पारी चिनिया गाउँ

उनले अगाडि थपे, ‘यहाँ किमाथाङ्कामा पनि एकचोटी चीनको सहयोगमा बाटो बनाउने योजना आएको थियो र उतैबाट अनुगमन गर्न आए । अनुगमनमा आउँदा सिमेन्टको मात्रा कम भयो भनेर फेरि भत्काएर बनाउन लगाए । यसो गर्‍यो भने पो ठेकेदारहरूले काम चोर तरिकाले ठग्न सक्दैनन् । हाम्रो देशमा त इन्जिनियर र अनुगमनमा जाने सिडिओ लगायत सबैलाई भाले काटेर खुवाएर यसो कमिसन र पर्सेन्ट छुट्याएपछि सब कुरा मिलाइहाल्छ । तर उता चीनमा नियम एकदम कडा छ र त्यसरी तीव्र गतिमा विकास भएको छ । मापदण्ड अनुसार काम छिटो गर्नेलाई बोनस दिँदो रहेछ । त्यसो गरेपछि ठेकेदारहरूलाई पनि काम गर्ने जाँगर चल्दोरहेछ ।’

उनको कुरालाई सुनेर हाम्रो देशमा सञ्चालित विकास आयोजनाको याद आयो । कुनै पुल बनाएको महिना दिनमै भात्किने, कालो पत्रे गरेको हप्ता दिनमै उप्किने । यस्तै यस्तै सबका सब कमिसन र घुसखोरीमा चुर्लुम्म । अनि कसरी देश विकास होला जस्तो लाग्यो ।

चीनको तीव्र विकास त्यसै भएको होइन रहेछ । त्यहाँको शासन पद्धति र चुस्त दुरुस्त नियमहरूको पालना गराउने प्रवृत्तिले आज चीनको विकास र आर्थिक गतिमा कायापलट भएको रहेछ । शायद त्यस्तै भएर कोभिड-१९ महामारी शुरु हुँदा वुहानमा दश दिन मै एक हजार शय्याको अस्पताल निर्माण गरेको थियो । हाम्रो देशमा भने हरेक कुरा सेटिङमा चल्छ । त्यसैले होला देशमा विकासले गति लिन नसकेको ।

बाहिर पानी परिरहेको थियो । टेलिभिजनमा तराइमा धान खेती डुबानमा परेको, विराटनगर एयरपोर्ट पानीमा डुबेकोलगायत बाढी पहिरोले यति घर बगायो, यति जना मर्‍यो भन्ने समाचार आइरहेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबर क्षति पुगेको भन्ने थियो ।

त्यसैगरी बेमौसमी वर्षाका कारण १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । कहिले मल त कहिले बीऊ र सिँचाइको असुविधाका बीच निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका देख्दा मन खिन्न भयो ।

त्यसैबेला फिन्जोक सरले अर्को कुरा नि सुनाए, ‘उता चीनमा बाढी पहिरो प्राकृतिक प्रकोप आउला र नागरिकहरू उठीबास होला भनेर पूर्वतयारीका साथ ठाउँठाउँमा सुविधा सम्पन्न गाउँ र नगर बनाएर नै राखेको हुँदो रहेछ । अनि बाढीपहिरो आउला भनेर पूर्व तयारी पनि निकै गर्दो रहेछ । त्यहाँ पारि गाउँको पछाडिपट्टी पहिला घना जंगल थियो ।

अहिले त्यो जंगलमा निकै ठूलो, झन्डै धरान जत्रो बस्ती नै बनाएको छ । घरहरू पूरै आरसीसी गरेको, चिटिक्क पारेर बनाएर राखेको छ । हेर्दा राम्रो र बलियो पनि उस्तै । यदि पारि केही भइहाल्यो भने उता सार्नको लागि । दुई घर जति रोड बनाउँदा विस्थापित भएको थियो । तिनीहरूलाई अहिले त्यहीँ सारेका छन् । पहिला त्यो ठाउँ जंगल र खर्क थियो तर पोहोर साल कोरोनाको बेला एकाएक बनाए ।’

फिन्जोक सरको कुरा सुनेर मनमा लाग्यो, हाम्रो देशमा वर्षेनी बर्खामास लागेपछि बाढी आउने पहिरो आउने लगायत डुबान जस्ता समस्याहरू हामी वर्षौंदेखि खेपिरहेका छौं । तर हाम्रो पूर्व तयारी जहिले नि शून्य । बाढी आएपछि र डुबानमा परेपछि राहतको नाममा चाउचाउ र चिउरा मात्र बाँडेर टार्छन् ।

कर्णालीको हिल्सा नाका होस् या रसुवाको केरुङ नाका होस् या सिन्धुपाल्चोकको तातोपानी नाका होस् या संखुवासभाको किमाथाङ्का नाकामा बस्ने बासिन्दाहरूको एउटै बाध्यता छ । चीनतिरको विकास र त्यहाँको जनताको सुविधा देखेर र्‍याल काढ्ने । इतिहासको एउटा कालखण्डमा तिब्बततिर पूर्ण रूपले अनाज आपूर्ति गर्ने नेपाल अहिले पूर्ण रूपले चीनमा भर पर्नुपर्ने अवस्था छ ।

यही कुरालाई थप्दै फिन्जोक सरले सुनाए, ‘आज भन्दा १० वर्ष पहिला पारिका मान्छेहरूलाई एकदम दु:ख थियो । गाडी आएर सुखी भए । पहिला गाडी नआउँदा उनीहरूलाई हिउँ पराक बेला हिडडुल गर्न गाह्रो थियो । यता नेपालमा पनि हुङगुङसम्म मात्र छिर्न दिन्थ्यो । हिउँदमा हाम्रो गाउँ (हुङगोङ) तिर एक छाक खानाको लागि दाउरा टिप्ने, भारी बोक्ने काम गर्थे । हामीले ज्याला दिएर काममा पनि लगाउँथ्यौं । ज्याला पनि जे दिए पनि हुन्थ्यो । तर अहिले त गाडीको सुविधा भएपछि यहाँ (नेपाल) का मान्छे पारि (चीन) काम गर्न जान्छन् । पहिला अनाजको लागि चीनका वासिन्दा यता नेपालमा भर पर्नुपर्ने थियो । अहिले ठ्याक्कै उल्टो भयो । पारि (चीन) झिलिमिली यहाँ केही छैन । सडक बनेपछि उनीहरूको जीवनस्तर कहाँबाट कहाँ पुग्यो । हाम्रो त अहिले पानी र हावाबाहेक सबै पारि (चीन) बाट आउँछ ।’

साँझ परिसकेको थियो । अध्याँरो हुँदै थियो । साहुनी भित्र भान्सातिर खाना पकाउँदै थिइन् । हामीले फेरि प्रश्न राख्यौं, ‘पारिको जीवन र विकास देखेर तपाईंलाई कहिलेकाहीँ उतै (चीन) को भएको भए हुन्थ्यो जस्तो लाग्दैन ?

हाँस्दै फिन्जोक सरले भने, ‘लाग्छ नि सर हामीलाई त उतैको मान्छे बनाएको भए र उतै नागरिक हुन पाए हुन्थ्यो जस्तो लाग्छ नि । किनभने पारि झिलिमिली छ, सुविधा छ, चीन सरकारले बालबच्चाहरू सबै निशुल्क पढाएका छन्, बुढाबुढीहरूलाई स्वास्थ्य सेवा दिएका छन् । पारि ‘शेर्पा’ लाई लोपोन्मुख जाति भनेर भत्ता पनि दिएका छन् । हामीलाई नेपाल सरकार केही हेरेको छैन । नेताहरू आउँछ भाषण ठोक्छ, खादा माला लगाउनु पर्छ । यहाँ आउँदा यो गर्छु त्यो गर्छु भन्छ तर काठमाडौं पुगे सबै बिर्सिन्छ ।

त्यसैले यहाँका मान्छेहरू उतैको हुन पाए हुन्थ्यो भन्ने खालका छन् । हामी त नेता र मन्त्रीहरूलाई खादा र माला लगाउँदा लगाउँदै हैरान भइयो । एकताका टोपबहादुर रायमाझी ऊर्जा मन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुँदा उहाँहरू र अरुअरु मन्त्रीहरू पनि आउनुभएको थियो । हामीले ज्ञापन पत्र पढेर सुनायौं । अनि तत्काल सोलार उपलब्ध गराउने बाचा गर्नुभयो । तर काठमाडौंमा गएर पछ्याउने क्रममा प्रक्रिया चल्दैछ भने र पछि सोलार नै पाइएन । त्यसपछि भने चेत आयो । यो नेताहरू खाली गफ मात्र दिने रहेछन् भन्ने ।’

फिन्जोक सरको कुरामा केही पीडा, केही रिस, केही वेदना त केही आत्मग्लानि पाइन्थ्यो । वास्तवमा नेपालको सबै नाका चाहे त्यो भारतसँग होस् या चीनसंगका नाकाहरूको स्थिति यस्तै छ । सीमा वारि अँध्यारो र सीमापारि झिलिमिली । यस्तो देख्दा जो कोहीलाई पनि सीमापारि कै भए हुन्थ्यो जस्तो अवश्य लाग्ला । हुन त राष्ट्रवादको लहर चलेको बेला जिब्रोबाट सबैले यस्ता कुरा नफुत्काउलान् । तर डिभी भर्न राति एक बजेदेखि राहदानी विभाग अगाडि लाइन लाग्नेहरूको भिडको तथ्यले हजार तर्कहरू खण्डन गर्छन् जस्तो लाग्छ ।

नेपालमा २००७ सालको प्रजातन्त्रको उदयदेखि अहिलेसम्म निकै राजनीतिक परिवर्तनहरू भए, निर्दलीय पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा निकै राजनीतिक व्यवस्थाहरू फेरिए पनि जनताको जीवनस्तर र भुईं मान्छेको समस्या फेरिएन ।

वैदेशिक ऋणको भार दिनानुदिन थपिँदै छ । सीमामा बस्ने जनताको स्थिति र समस्याहरू पनि त्यस्तै छन् ।

गफिने क्रम जारी थियो । फिन्जोक सर आफ्ना अनुभव र अनुभूति हामीसँग साटिरहेका थिए । हामीले सीमा सुरक्षा र आवतजावतबारे पनि जिज्ञासा राख्यौं । हाम्रो जिज्ञासामा उनले फेरि भने, ‘काम गर्न त निर्वाध रूपमा परिचय पत्र राखेर जान दिन्छ, बिहान गएर बेलुका फर्किनुपर्छ । तर कोभिडको कारण त्यो पनि अहिले ठप्प छ ।

अरुबेला उनीहरू (चीनका मानिसहरू) कुनै प्रतिबन्धविना ड्रोनदेखि मूभि क्यामेरा लिएर खुल्लमखुल्ला सुटिङ गर्छन् । उनीहरू बिना रोकावट ठूलाठूला मूभि क्यामेरा लिएर आउँछन्, यताको सबै सुट गरेर जान्छन् । कसैको रोकतोक हुँदैन तर हाम्रो भने सीमामा पनि मूभि क्यामेरा लिएर गयो भने तुरुन्तै उताको प्रहरी आएर सोधपुछ गरिहाल्छ ।

हामी सानो देशको भने जे पनि खिच्न पाउने । के गर्ने सानो देशमा भएर होला, उताका सेना पुलिसले मात्र होइन उताका जनताले पनि हामीलाई हेप्न खोज्छन् । सीमाभित्र पनि उता नियम धेरै कडा छ । तर हाम्रोमा उनीहरू निर्वाध रूपमा आएर खिचेर जान्छन् ।

वास्तवमा हाम्रो देशभित्र अनुमति बिना खिच्न नपाउनुपर्ने हो । तर के गर्नु यहाँका प्रहरीहरू उता चीनको इशारामा चल्छन् । उता चीनबाट हाम्रो प्रहरीहरूलाई महिनैपिच्छे रासनसँगै मोबाइल, ल्यापटप, हेल्मेट, ज्याकेट आदि दिन्छन् । उता फौजी शासन भएकोले फौजीलाई रासन पानी दिए उनीहरूको इशारामा चलाउन सकिन्छ भन्ने छ ।

हाम्रो प्रहरीहरूले केही भयो भने पहिला जिल्लालाई खबर दिनुभन्दा पनि चीनतिर सूचना दिन्छन् । चीनले जे भन्यो त्यही मान्छन् । कहिलेकाहीँ उता मिटिङ हुँदा सामानहरू दिनु त राम्रो हो तर रासनहरू चाहिँ पुलिसलाई भन्दा यहाँका जनतालाई दिनुस् न भनेर कुरा पनि उठाउने गर्छु । तर मान्दैनन् । यस्तै छ ।’

यो कुराले मनमा अर्को केही कुराहरू उब्जायो । देशको प्रधानमन्त्रीदेखि मन्त्रीहरू त विदेशी इशारामा चल्छन् भने दूरदराजमा रहेका प्रहरीहरूको के कुरा गर्नु र खै ? कठै हाम्रो देश, सार्वभौमसत्ता भने पनि देशको सीमादेखि लिएर केन्द्रमा आसिन मै हुँ भन्ने सबै नै प्रत्यक्ष रूपमा बाहिरी गुलाम भएको देख्दा चाहिँ सारै खल्लो लाग्छ ।

यसरी गफिँदा गफिँदै रातको ८ बज्न लागेको थियो । साहुनीले खाना खाऊँ अब भनिन् र हामी खाना खानतिर लाग्यौं । खाना खाइसकेपछि भने भोलि के गर्ने भन्ने हामीबीच छलफल भयो । छलफल पश्चात, यदि पानी परेमा किमाथाङ्का नै बस्न नपरे जाने भन्ने योजनाका साथ हामी सुत्नतिर लाग्यौं ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: