दाङ । एमाले नेता शंकर पोखरेलले मुलुकलाई अस्थिरतामा लैजाने परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँचजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनु भएको छ । प्रेस चौतारी दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले स्थायी कमिटी सदस्य पोखरेलले पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनु भएको हो ।
उहाँले प्रधानन्यायाधीश राणाको मात्रै राजीनामा माग्नु गलत भएको बताउनु भयो । जनादेशको विकल्प नरहेको भन्दै नेता पोखरेलले जति सक्यो चाँडो निर्वाचन हुनु जरुरी रहेको बताउनु भयो । उहाँले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग एमालेले एकता नगर्ने पनि बताउनु भयो ।
माधव नेपाल, प्रचण्ड जनादेशलाई अपमानित गरेर गएको उहाँको भनाई थियो । ‘उनीहरूलाई एउटा जनादेशबाट आफ्नो हैसियत महसुस गराउनुपर्छ । त्यतिबेलासम्म एकताको कुनै सम्भावना छैन,’ पोखरेलले भन्नुभयो । अध्यादेश र परमादेशमार्फत एमालेलाई फुटाउने काम गरेका न्यायधिसहरु नै विभुषित भएकाले नैतिक जिम्मा बहन गर्न आवश्यक रहेको पोखरेलको भनाई छ । उहाँले वर्तमान सरकारलाई विकासविरोधी सरकार भएको आरोप लगाउनु भयो ।
केपी शर्मा वली सरकारले ल्याएका १४ सय सडक आयोजना कटौती गरेर विपन्नवर्गलाई प्रतिव्यक्ति १० हजार रूपैयाँ उपलब्ध गराउन थालेको उहाँको भनाई छ । १४ सय सडक आयोजना सम्पन्न गर्दा विकास निर्माणसँगै श्रममार्फत् जनताको जिवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने पोखरेलले बताउनु भयो ।
उहाँले मंसिरमा हुने एमाले महाधिवेशनमा कुन पदमा उठ्ने भन्नेबारे पछि उपयुक्त समयमा उपयुक्त निर्णय गरिने जानकारी पनि दिनुभयो ।