नयाँदिल्ली । कोभिडका कारण नेपाल र भारतका नागरिकलाई मात्रै सीमित उडान अनुमति दिइएको एयर बबल अवधारणामा आधारित उडानलाई हटाइ दुवै देशको मागका आधारमा उडान खुला गर्न सकिने भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिंधियाले बताएका छन् ।
शुक्रबार नयाँदिल्लीस्थित राजिव गान्धी भवन सफदरगन्ज भवनमा नेपालका पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा भारतीय सिभिल एभिएसन मन्त्री सिंधियाले यस्तो बताएका हुन् ।
नेपाल र भारतबीच एकवर्ष यता एयर बबल अवधारणामा काठमाडौं र दिल्लीका लागि मात्रै उडान हुँदै आइरहेको छ । हाल दुवै देशका ध्वजाबहाक वायुसेवाले दैनिक एक/एक वटा उडान गर्दै आएका छन् ।
भारतले ०७६ चैतपछि रोकिएका काठमाडौं–मुम्बई, काठमाडौं–बैंङलोर, काठमाडौं–कोलकत्ता, काठमाडौं–बनारस उडान हालसम्म पनि सुचारु गराएको छैन । दुई मन्त्रीबीच भएको छलफलमा पर्यटनमन्त्री आलेले दिल्ली–काठमाडौं रुटमा नेपाल यात्रुको डिमान्ड अनुसार उडान संख्या बढाउन चाहिरहेको उल्लेख गर्दै एभिएसन मन्त्री सिंधियालाई मुम्बई र बैंङलोर उडान पनि सुचारु गराइदिन आग्रह गरेका थिए । उनले अब कोरोना संक्रमण दर घट्दै गइरहेकाले एयर बबल अवधारणा पनि हटाउन एभिएसन मन्त्री सिंधियासंग आग्रह गरेका थिए । ईकान्तिपुर