काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायकमन्त्री डोनाल्ड लू बुधबार साँझ काठमाडौं आइपुगेका छन् । समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि लू आइपुगेका छन् ।
जो बाइडेन राष्ट्रपति भएपछि दक्षिण तथा मध्य एसिया हेर्ने अधिकारीहरू फेरबदल भएसँगै उनीहरूको यो पहिलो परिचयात्मक भ्रमण हो । उनीहरूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति जो बाइडेनका उच्चतम प्राथमिकताहरूका सन्दर्भमा भ्रमण हुन लागेको अमेरिकी दूतावासले जनाएको छ ।
सहायकमन्त्री लूले डिसेम्बरमा अमेरिका आयोजना हुने विश्व प्रजातन्त्र सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा दिने कार्यक्रम रहेको कूटनीतिक स्रोतले बताएको छ । नेपालमा भेटवार्ता सम्पन्न गरेर सहायकमन्त्री लू शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।