काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका, जिल्ला, क्षेत्रीय र केन्द्रीय प्रतिनिधि निर्वाचन लगभग सम्पन्न भएको छ । परिणामहरु धमाधम आइरहेको छ ।
प्रारम्भिक परिणामअनुसार देशभर संस्थापन अर्थात सभापति एवं शेरबहादुर देउवा पक्ष हावी भएको छ । पछिल्लो परिणाम हेर्दा संस्थापन पक्ष निकै अगाडि देखिएको छ । बालुवाटार स्रोतका अनुसार परिणामले प्रधानमन्त्री देउवा उत्साहित छन् ।
मंसिर अन्तिम साता काठमाडौमा हुने १४औं महाधिवेशनको नतिजाको दृश्य स्पष्ट पार्ने केन्द्रीय प्रतिनिधि चयनका परिणाम सुखद आएसँगै देउवा सभापतिमा दोहोरिने निश्चित जस्तै छ ।
त्यसमाथि संस्थापन इतर अर्थात रामचन्द्र पौडेल समूहभित्र एकता नहुनु, महामन्त्री शशांक कोइरालादेखि प्रकाशमान सिंहसम्म उपगुट हुनु, सभापतिमै भिड्न खोज्नुले पनि यसपालि सभापतिमा देउवाले नै बाजी मार्ने परिस्थिति बन्दै गएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनको परिणामले पनि त्यहीँ देखाएको छ ।
प्रारम्भिक मत परिणाम
विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरुको परिणाम सार्वजनिक भइरहेको छ । प्रदेश २ बाहेकका अरु प्रदेशमा लगभग महाधिवेशन प्रतिनिधिको निर्वाचन भइसकेको छ । जिल्लाका परिणामहरु आइरहेका छन् ।
प्रारम्भिक मत परिणामअनुसार काँग्रेसमा संस्थापन पक्षका प्रतिनिधिहरु बढी आएका देखिएको छ । संस्थापन पक्षका प्रतिनिधिहरु ७० प्रतिशतको हाराहारीमा आएका छन् । विभिन्न जिल्लाबाट प्राप्त मंगलबार अपराह्नसम्मको मत परिणामअनुसार अधिकांश जिल्लामा देउवा पक्षका प्रतिनिधिहरु आएका छन् ।
दोस्रोमा पौडेल पक्ष, तेस्रो स्थानमा कृष्णप्रसाद सिटौला पक्षका प्रतिनिधि चुनिएका छन् । सभापतिको दौडमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि पक्षको भने प्रतिनिधित्व साघुरो छ ।
प्रदेश १ को मोरङमा शशांक-शेखर कोइराला पक्षका प्रतिनिधि आएबाहेक अन्य जिल्लामा देउवाको पक्षीय प्रतिनिधिको वर्चश्व देखिएको छ । त्यसैगरी पौडेलको प्रभाव रहेको ठानिने गण्डकी प्रदेशमा पनि देउवा पक्षका प्रतिनिधिहरु ६० प्रतिशतको हाराहारीमा निर्वाचित भएका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने देउवाको एकलौटी देखिएको छ । यी प्रदेशमा प्रारम्भिक नतिजामा देउवाको ७० प्रतिशतभन्दा बढी प्रतिनिधि आएका छन् । पौडेल समूहमा उम्मेदवारीमा सबैले दाबी गरेर एकता नहुँदा यसको असर महाधिवेशन प्रतिनिधि चयनमा पनि देखिएको नेताहरु स्वीकार्छन् । जसको फाइदा देउवालाई पुगेको छ ।
परिस्थिति यसरी नै अघि बढ्दै गए प्रधानमन्त्री देउवा फेरि सभापतिमा दोहोरिन कसैले रोक्न नसक्ने निश्चित छ । फेरि नेतृत्व प्राप्त गर्न सहज हुने परिस्थिति बन्ने छ ।