विवाहपञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

काठमाडौं । रामजानकी विवाहपञ्चमीको तेश्रो दिन जनकपुरमा आज धनुष यज्ञ मनाइँदै छ ।

त्रेता युगमा जस्तै आजको दिन धनुष यज्ञमा भगवान रामले सीतासंग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ ।

जानकी मन्दिरमा आज धनुष यज्ञ गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए ।

विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन शनिबार फुलबारी लीला सम्पन्न भइसकेको छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको चौथो दिन भोलि (सोमबार) तिल्कोत्सव, मंगलबार राम र जानकीको मटकोर रहेको छ भने बुधबार मुख्यदिन विवाह रहेको छ ।

बिहीबार रामकलेवा गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।