काठमाडौं । तालिबानका तीन महिना स् भोकमरीबाट १० लाख बालबालिकाको ज्यान जाने खतरा — मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेयता तीन महिना बितिसकेको छ । यसबीचमा तालिबानले सरकार गठन गरिसक्यो । तर समय घर्किँदै गर्दा अफगानिस्तान गहिरो संकटतर्फ उन्मुख छ । अफगानिस्तानको अवस्था झन् बिग्रँदै गएको छ ।
विशेषगरी चिसो मौसम सुरु भएसँगै यहाँका अधिकांश मानिसले खाद्य संकट सामना गर्नुपरेको छ । विभिन्न अधिकार समूह तथा संस्थाले यस्तो अवस्थाप्रति चिन्ता प्रकट गर्दै आएका छन् । यस्तो अवस्थाले विकराल रुप ल्याउने भन्दै चेतावनीसमेत दिइएको छ ।
जाडो सुरु हुने बित्तिकै लगभग २ करोड ३० लाख मानिसहरूमध्ये आधाभन्दा बढी जनसंख्या चरम स्तरको भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार ५ वर्षमुनिका कम्तीमा १० लाख बालबालिका भोकमरीका कारण मृत्युको जोखिममा रहेको बताइएको छ । जुन संख्या २० वर्षको युद्धमा मृत्यु हुने बालबालिकाको संख्याभन्दा धेरै हो ।
सिएनएनले यसबारे एक रिपोर्ट प्रकाशन गरेको छ । पछिल्लो संकट सामना गरिरहेका बालबालिकाको एक प्रतिनिधि पात्र हुन्, कमिला । झण्डै ३ वर्षकी उनको तौल जम्मा ११ पाउन्ड अर्थात् ५ केजी छ । अस्पतालमा उनको शरीर हाड छालामै सिमित देखिन्छ । कमिला पछिल्लो ८ महिनादेखि कुपोषित छिन् ।