काठमाडौँ — भारतीय अनुदानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को संरचना बनाउन २६ वर्षअघि भएको सहमति बल्ल कार्यान्वयन चरणमा प्रवेश गरेको छ । भारतमा बनेको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा सरकारले स्वीकृत गरेसँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो ।
करिब पौने ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको एकेडेमी निर्माणका लागि प्रहरी प्रधान कार्यालयले बुधबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
भारतले गत नोभेम्बरमा नेपालको सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानसँग बाझिने गरी बोलपत्रको मस्यौदा बनाएर पठाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले कानुनी प्रावधानसँग बाझिएका विषय संशोधनका लागि गृह मन्त्रालयले पत्र लेखेको थियो । त्यही पत्रका आधारमा गृह मन्त्रालयले भारतीय प्रस्तावअनुसार नै एकेडेमी निर्माण गर्ने गरी बोलपत्रको मस्यौदा स्वीकृत गरेको हो ।
पछिल्लो पटक काठमाडौंस्थित भारतीय दूतावासले गत कात्तिक २३ (नोभेम्बर ९) मा पत्र पठाउँदै अन्तर्राष्ट्रिय बोलपत्र छिटो आह्वान गर्न प्रहरी प्रधान कार्यालयलाई ताकेता गरेको थियो । दूतावासको पत्रपछि प्रतिष्ठानका कार्यकारी निर्देशक एवं एकेडेमीसम्बन्धी ‘प्रोजेक्ट कोअर्डिनेसन युनिट’ (पीसीयू) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नीरजबहादुर शाहीको अध्यक्षतामा मंसिर ८ मा बैठक बसेको थियो । बैठकले यससम्बन्धी कानुनी अड्चन समाधान गर्न गृह मन्त्रालयलाई रायसहितको पत्र लेखेको थियो । बोलपत्रमा एकेडेमी डिजाइन, खरिद र निर्माण (ईपीसी) मोडलमा १ हजार ९५ दिन अर्थात् ३ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ ।