जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा पल्टु रविदासको मृत्यु भएको घटनामा दलित जनमत संघले जनकपुरमा प्रदर्शन गरेको छ । सोमबार दिउँसो संघले दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा उनको हत्या गरिएको दाबी गर्दै जनमत पार्टीका भातृ संगठन दलित जनमत संघले पाँच बुँदे माग अघि सार्दै जनकपुरका विभिन्न ठाउँमासमेत प्रदर्शन गरेको हो ।
धनुषाका एसपी प्रकाश रानाभाटलाई कारबाही, प्रहरी छानबिन पारदर्शी, पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था र प्रहरी आतंक रोक्न, दलित हत्या बन्दको माग गर्दै संघले प्रदर्शन गरेको दलित अगुवाहरुले बताएका छन् ।
धनुषामा दलित समुदायको व्यक्तिहरूको प्रहरी हिरासतमा पटकपटक यस्ता प्रकृतिका घटनाहरू बारम्बार दोहोरिँदै आएकाले यस्ता घटनालाई न्यायालय, नेपाल सरकार मातहत रहेको सुरक्षा निकाय मधेसमा सुरक्षा दिनुको सट्टा ज्यान मार्ने निकाय बनेको जनमत पार्टीको ठहर छ ।
जनमत पार्टीले अघि सारेको माग पूरा गर्न भन्दै केहीबेर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र समेत पठाएका छन् ।
‘हिरासतमा स्वयम् आत्महत्या गरेको अथवा हिरासतमै यातना दिई षडयन्त्रपूर्वक हत्या गरी झुण्डिएको हो भन्ने कुरा शंकास्पद रहेकाले जनमत पार्टी धनुषाले उक्त घटनाको न्यायिक समिति गठन गर्दै सत्यतथ्य छानबिन, दोषीलाई कडाभन्दा कडा कारबाही र पल्टु रविदासलाई न्याय तथा क्षतिपूर्तिको व्यवस्थापन गर्न जोडदार माग गर्दछौं,’ ज्ञापनपत्रमा लेखिएको छ ।
गएको साउन १५ गते लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदास हिरासतकक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो झुण्डिएको अवस्थामा भेटिएका थिए ।
धनुषा प्रहरीले उनले हत्या गरेको दाबी गरे पनि पीडित परिवार, दलित अगुवा तथा जनमत पार्टीले पल्टुको हत्या भएको दाबी गर्दै आएको छ ।
निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै घटना भएकै दिनदेखि दलित अगुवाको नेतृत्वमा प्रदर्शन भइरहेको छ ।
लगातार दुई दिनदेखि उनीहरूले जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा प्रदर्शन गर्दै केहीबेर चक्काजाम समेत गर्दै आएका छन् ।