काठमाडौं । वैदेशिक रोजगार विभागले गत मंगलबार इजरायलको केयर गिभर रोजगारीका लागि आवेदन दिने सूचना जारी गरेपछि नेपालीहरुले फाराम भर्न थालेका छन् । वैदेशिक रोजगारीको मुख्य गन्तब्य रहेको इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने बताएको छ । जसमा महिला कामदार ७० प्रतिशत अर्थात ७ सय जना र पुरुष कामगार ३० प्रतिशत अर्थात ३ सय जनाले यो अवसर पाउने छन् ।
आवेदन दिने चाप उच्च भए पछि अनलाईन मार्फत आवेदन फाराम भर्न निकै समस्या भएको गुनासो आउन थालेको छ । धेरै रोजगार आकांक्षीहरूले अनलाइनमार्फत आवेदन दिने प्रयास गरेपनि आवेदन पोर्टल खुल्न नसकेको बताएका छन् ।
तर विभागले झुक्किनु वा अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएको छ । विभागका सूचना प्रविधि शाखाका अनुसार विभागको वेबसाइटमा इजरायल रोजगारीका लागि भनेर सूचना राखिएको र त्यहाँ क्लिक गर्यो भने त्यहीँबाट सजिलै आवेदन भर्न सकिनेछ ।
अनलाइन आवेदन दिँदा व्यक्तिगत जानकारी ९पर्सनल डिटेल० मा गएर आफ्नो व्यक्तिगत जानकारीहरू राखेपछि क्रमशः आफ्नो शिक्षा, तालिम, फोटो, पासपोर्ट र नागरिकता अपलोड गर्नुपर्नेछ ।
प्रणालीमा आफुले भरेका सबै विवरणको प्रि–भ्यू हेर्न मिल्ने र त्यसमा इडिटको विकल्प पनि रहेकोले अघि भरिएका केही विवरण सच्याउन पनि पाइने भएकाले असावधानीबस गलत विवरण परेका भएपनि सच्चाउन सकिने विभागले जनाएको छ ।
इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् । सरकारी तवरबाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ । कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***