जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । जनकपुस्थित उक्त विश्वविद्यालयका ‘पेपररकोर्ष कन्ट्रयाक्ट’ शिक्षकहरु करारमा नियुक्त गर्न माग गर्दै आन्दोलित भएका हुन् ।
स्थापनाकालदेखि निरन्तर अध्यापन गराउँदै आएका शिक्षकहरु अन्तरिक प्रक्रियाद्वारा करारमा नियुक्त गर्न माग गर्दै आन्दोलनमा उत्रिएको राजर्षि जनक विश्वविद्यालय पेपररकोर्ष कन्ट्रयाक्ट शिक्षक संघका उपाध्यक्ष शम्भु पोखरेलले बताए ।उनका अनुसार शिक्षकहरुले विगत चार महिनादेखि करार गर्न माग गर्दै आएका छन् ।
सम्बन्धित निकायले बेवास्ता गरेपछि पहिलो चरणमा आइतबार ९हिजो०देखि निधारमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरिएको हो । यही साउन २९ गतेसम्म माग सम्बोधन नभए अर्को चरणमा सशक्त आन्दोलन गर्ने संघको चेतावनी छ ।
‘स्थापनाकाल नै देखि प्राइभेट कलेज छोडेर यहाँ सेवा दिइरहेका छौँ । २७ वटा दरबन्दी खाली छ,’ पोखरेलले भने, ‘त्यो दरबन्दीमा हामीलाई करारमा नियुक्ति गर्न भनेका हौँ ।’ क्याम्पस प्रमुख विनोद कर्णले करारमा नियुक्त गर्ने अधिकार केन्द्रीय कार्यालयको कार्यकारी परिषद्को रहेकाले आफूले त्यसमा केही गर्न नसक्ने बताए ।
उपकुलपति डा. भरत झाले कन्ट्रयाक्ट गरिएका व्यक्तिहरुलाई करारमा नियुक्त गर्न सम्भव नरहेको बताए । पेपर कन्ट्रयाक्ट गरिएकाहरु विज्ञ भए पनि उनीहरु शिक्षक नै नरहेको तर्क झाले गरे ।
‘पेपर कन्ट्रयाक्टरको मतलब पढाउनुस् र जानुस् । उनीहरुलाई कुनै युनिभर्सिटीले शिक्षक मानेका छैनन् । उनीहरु शिक्षक हुँदै हुँदैनन्,’ उनले भने, ‘त्रिविमा यस्ता हजारौँ व्यक्ति छन् । सबैलाई कहाँ करार गर्न सकिन्छ रु ऐनमा त्यसको व्यवस्था छैन ।’