गत अगस्ट १५ मा तालिबान विद्रोहीहरुले अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमाएसँगै दुईवटा प्रश्न जन्मिएका थिए ः पहिलो– तालिबानी शासन विगतको जस्तै कठोर हुन्छ वा उनीहरुले उदार नीति अवलम्वन गर्नेछन् ? दोस्रो– अफगानिस्तान विगतको जस्तै आतंकवादीहरुको सेल्टर बन्ला या शान्ति क्षेत्र बन्ला ?
तालिबानको पुनरोदयसँगै जन्मेका यी दुई प्रश्नको जवाफ नआउँदै अफगानिस्तानमा दुईवटा नयाँ संकट मडारिएका छन् । एक– थेगिनसक्नुको शरणार्थी समस्या । दुई– काबुल एयरपोर्टमा इस्लामिक स्टेटले गराएको नरघाती विस्फोटनले दिएको आतंकवादको पूर्वसन्देश ।
तत्कालीन सोभियत संघले अफगानिस्तानबाट सेना फिर्ता गरिसकेपछि सन् १९९६ मा तालिबानीहरुले पहिलोचोटि अफगानिस्तानको सत्ता कब्जा गरेका थिए । उनीहरुले १९९६ देखि सन् २००१ मा अमेरिकाले आक्रमण नगर्दासम्म शासन चलाए । अहिले २० वर्षपछि अमेरिकी सेना फर्कने तयारी हुँदैगर्दा सत्तामा तालिबानीहरुको पुनरागमन भएको छ । दोस्रोचोटि सत्तामा आउँदा तालिबानीहरुले उदार नीति अपनाउने र आतंकवादीहरुलाई प्रश्रय नदिने धेरैको अनुमान र अपेक्षा थियो । चीनले पनि तालिबानी नेताहरुलाई बेइजिङमा बोलाएर अतिवादीहरुसँग सम्बन्ध नराख्न भनेको थियो भने पश्चिमा मुलुकहरुले महिला अधिकार र मानव अधिकारको सम्मान गर्न भनिरहेका थिए ।
सन् १९९६ देखि २००१ सम्मको शासन सञ्चालनका बेला तालिबानीहरुले एकातर्फ महिलाप्रति कठोर नीति लिने र निरंकुश शासन चलाउने काम गरे भने अर्कोतिर विभिन्न आतंकवादी समूहलाई देशभित्र सेल्टर दिने काम गरे । अन्ततः तिनै मध्येका एक अलकायदाका नेता बिन लादेनलाई सेल्टर दिएकै कारण त्यसबेला अमेरिकाले तालिबानी शासन ढाल्यो र अफगानिस्तानलाई आफ्नो कब्जामा लियो ।
तालिबानीहरुले पहिलोचोटि सत्ता हातमा लिएकै साल सन् १९९६ मा अलकायदाका नेता ओसामा बिन लादेन साउदी अरबबाट अफगानिस्तान छिरेका थिए । लादेनले अमेरिकाको ट्विन टावरमा आत्मघाती हमला गरेपछि तालिबानी शासनमाथि दुर्दिन शुरु भएको थियो ।
अहिले फेरि हिजोको अलकायदाले गरेजस्तै इस्लामिक स्टेट (आईएस) ले तालिबानीहरुलाई चुनौती दिन सुरु गरिसकेको छ । काबुल विमानस्थलमा भएको आत्मघाती हमलाले अब तालिबानीमाथि प्रश्न उब्जाएको छ कि अब उनीहरुले आईएसप्रति कस्तो नीति लेलान् ? कतै अफगानिस्तान आईएसको सेल्टर त बन्ने छैन ? अनि आईएसको सामना तालिबानले एक्लै गर्न सक्छ या आईएसलाई बहाना बनाएर फेरि त्यहाँ अमेरिकालगायत पश्चिमी राष्ट्रको उपस्थिति कायमै रहनेछ ? । एजेन्सी