काठमाडौं । सप्तरीमा मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड हटाउने एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साह रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका स्थित हनुमान मन्दिर प्रांगणमा मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड साहले जलाएको खबर पाएपछि उनलाई सोमबार साँझ पक्राउ गरिएको हो ।
सोमबार साँझ साहले मुख्यमन्त्री लालबाबु राउतको तस्वीर सहितको स्वच्छता अभियानको होर्डिंङ बोर्ड हटाएकी थिइन् । खबर पाउन साथ पुगेर उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेको डिएसपी काफ्लेले बताए ।
उजुरीको आधारमा उनीमाथि कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
बोर्ड हटाउने अभियन्तालाई पक्राउ गरेको भन्दै जनकपुरका मासका संयोजक सरोज मिश्रले प्रहरीको सो कार्यको भत्र्सना गरेका छन् । मिश्रले तत्कालै पक्राउ गरिएका अभियन्ता साहलाई रिहाइ गर्न माग गरेका हुन् ।
झण्डै एक महिना अघि जानकी मन्दिरमा लगाइएको मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड जनकपुरका युवाहरुले हटाएका थिए । मुख्यमन्त्री स्वच्छता अभियानमा व्यापक अनियमितता भएको पाइएपछि मुख्यमन्त्री राउतको चर्को आलोचना हुँदै आएको छ ।